झापा– जिल्ला निर्वाचन कार्यालय झापाले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ। कार्यालयले भद्रपुरमा आयोजना गरेको ‘निर्वाचनमा सञ्चार माध्यमको भूमिका’ विषयक कार्यक्रममा निर्वाचन अधिकृत तुलसीकुमार नेपालले यस्तो बताएका हुन्।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनपछि झापामा १३ हजारभन्दा बढी नयाँ मतदाता थपिएकाले कुल मतदाताको संख्या ६ लाख ६३ हजार ३११ पुगेका र तीमध्ये ३ लाख ३१ हजार ४४ पुरुष तथा ३ लाख ३२ हजार २५९ महिला रहेको उनले बताए। जिल्लामा आठ अन्य समूहका मतदाताको संख्या रहेको छ। जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको संख्या १ हजार २१५ बढी रहेको छ।
५ निर्वाचन क्षेत्र रहेको झापामा सबैभन्दा धेरै मतदाता क्षेत्र–५ मा छन् भने सबभन्दा कम क्षेत्र– १ मा रहेको जिल्ला निर्वाचन अधिकृत नेपालले बताए । उनका अनुसार क्षेत्र–१ मा मतदाताको संख्या १ लाख २० हजार ३७५ रहेको छ भने क्षेत्र–५ मा १ लाख ५४ हजार २८९ रहेको छ।
जिल्लामा ७६६ मतदान केन्द्र र २८५ वटा मतदान स्थल कायम गरिएको निर्वाचन अधिकृत नेपालले बताए। जिल्लामा दुई वटा मतदान स्थल अस्थायी रूपमा तयारी गरिएकामा जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि एउटा र प्रहरी, कर्मचारीलगायतका लागि अर्काे रहेको छ।
जिल्लाभर ६ हजार २४२ जनाको अस्थायी मतदाता नामावली तयारी गरिएकाले उनीहरूले समेत मतदानमा सहभागिता जनाउनेछन्।–रासस