काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको अन्तिम सूची प्रकाशनको अन्तिम तयारी भइरहेको बताएको छ।
आयोगले आफ्नो निर्वाचन क्षेत्रमा जान नपाउने तथा निर्वाचनमा खटिएका सरकारी कर्मचारी, वृद्धाश्रममा रहेका नागरिक, कैदीबन्दी र सुरक्षाकर्मीका लागि समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अवसरका लागि अस्थायी मतदाताको व्यवस्था गरेको हो।
सो प्रयोजनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले नामावली संकलन गरी आयोगको प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले बताए।
अस्थायी मतदाता सूचीमा समावेश हुन सम्बन्धित व्यक्तिको नाम मतदाता सूचीमा रहेको हुनुपर्ने भएकाले संकलन भएका नामावलीको प्रमाणीकरण भइरहेको छ। हालसम्म १ लाख १५२ मतदाता अस्थायी नामावलीका लागि प्रमाणीकरण भएका छन्।