सोमबार, वैशाख २८, २०८३

आन्तरिक पर्यटकको रोजाइमा ‘सन्राइज भ्यू प्वाइन्ट’

ताप्लेजुङको समदमुकामको सबैभन्दा नजिकको सन्राइज भ्यू प्वाइन्ट पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

फुङ्लिङ- ताप्लेजुङको समदमुकामको सबैभन्दा नजिकको सन्राइज भ्यू प्वाइन्ट पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ।  

National life

पछिल्लो समय प्रचारप्रसार भएसँगै अहिले वडा नं. ९ सुकेटारस्थित गुप्तेडाँडामा दैनिक सूर्योदय अवलोकन गर्न बाह्य तथा आन्तरिक पर्यटकको भीड यहाँ हुन थालेको हो।

यो भ्यू प्वाइन्ट आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्दै गएको छ। सूर्योदय भन्ने बित्तिकै पोखराको साराङकोट र पूर्वको इलामको श्रीअन्तु हाम्रो मानसपटलमा आउँछ तर, ताप्लेजुङको सन्राइज भ्यू प्वाइन्टबाट सूर्योदय हेर्नका लागि अन्य ठाउँको तुलनामा कमी नभएको स्थानीयवासीको भनाइ छ। 

अहिले बिहान सूर्योदयको अवलोकन गर्न आउनेको पर्यटकको घुइँचो लाग्न थालेको छ। पछिलो समय स्थानीयवासीले ‘सन्राइज भ्यू प्वाइन्ट’ नामकरण गरी प्रचारमा गर्न थालेपछि आन्तरिक तथा बाह्य पर्यटक सूर्योदय अवलोकन गर्न आउन थालेका हुन्।

अहिले बिहान ६:१० बजे उक्त भ्यू प्वाइन्टबाट प्रत्यक्ष सूर्योदय भएको अवलोकन गर्न सकिने भएकाले पर्यटकहरू थर्मसमा चिया तथा नास्ता बोकेर बिहान ५ बजे  त्यहाँ पुग्ने गर्दछन्।

सूर्योदयको अवलोकनसँगै विश्वको अग्लो हिमाल सगरमाथा, मकालु र विश्वको तेस्रो अग्लो कञ्चजङ्घा हिमशिखर चाँदीजस्तै टल्केको नजिकैबाट अवलोकन गर्न सकिन्छ। प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रका साथै अन्य हिमालको प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले यहाँबाट फोटो खिच्ने र टिकटक बनाउनेको भीड बढ्दो छ। 

विगतका वर्षहरुमा प्रचारप्रसार हुन नसकेको सन्राइज भ्यू प्वाइन्ट अहिले जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य भएको फुङ्लिङ नगरपालिकाका–१ वडासदस्य घनेन्द्र मादेनले बताए।

भक्तपुरको नगरकोट र इलामको श्रीअन्तुको सूर्योदय अवलोकन गर्न आफू पुगेको अनुभव सुनाउँदै उनले भने, 'इलामको श्रीअन्तु र ताप्लेजुङको सन्राइज भ्यू प्वाइन्टबाट जस्तै एकै किसिमले सूर्योदय अवलोकन गर्न सकिने रहेछ।' 

यहाँको भ्यू प्वाइन्ट पनि आफैँमा प्राकृतिक भ्यू टावर भएकाले आकाशे पुल निर्माण र अर्को डाँडामा स्तम्भ बनाएर त्यस ठाउँबाट पनि सूर्योदयको अवलोकन गर्ने स्थान बनाउनु आवश्यक रहेको उनको भनाइ थियो।

ताप्लेजुङ धार्मिक हिसाबले पनि चिनिएको जिल्ला हो। वर्षमा हजारौँ सङ्ख्यामा पाथीभरा देवीको दर्शन गर्न आउने गर्दछन्। सन्राइज भ्यू प्वाइन्ट पनि पाथीभरा क्षेत्रमै भएकाले पाथीभराको दर्शनसँगै सूर्योदय अवलोकन गर्न सकिने सिदिङवा गाउँपालिका–२ का देवेन्द्र बानियाँले बताए। 

जिल्लाका अन्य पर्यटकीयस्थलमध्ये सुकेटार गुप्तेडाँडाको सन्राइज भ्यू प्वाइन्टबाट पनि सूर्योदयको अवलोकन गर्नु उपयुक्त हुने फक्ताङलुङ गाउँपालिका–६ विशस लिम्बूले बताए। 

पर्यटकीयस्थलरूपमा प्रवर्द्धन गर्नका लागि सूर्योदय अवलोकन गर्ने स्थानमा नगरपालिकाले रु. १० लाखको लागतमा आवश्यक संरचना निर्माण गरिसकेको छ।

उक्त भ्यू प्वाइन्टसम्म जान पदमार्ग निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट समेत रु १० लाख उपलब्ध गराइएकामा पदमार्ग बने पनि भ्यू टावर भने बनाइएको छैन। प्रकृतिकरूपमै डाँडामा एउटा ठूलो ढुङ्गो छ। 

त्यही ढुङ्गाको भागमा घेराबार लगाइएको छ। पर्यटन प्रवद्र्धन गर्नका लागि तीन तलाको भ्यू टावर बनाउने योजना रहेको नगरप्रमुख अमिर मादेनले बताए। उनले भने, “मेरो चुनावी घोषणापत्रमा पनि सन्राइज भ्यू प्वाइन्टलाई पर्यटकीयस्थल बनाउने उल्लेख गरेको र आफ्नो कार्यकालसम्म आवश्यक भौतिक संरचना निर्माण हुन्छ”, भ्यू टावर निर्माण गर्नका लागि नगरपालिकाबाट तत्काल डिपीआर तयार गर्ने योजना रहेको नगरप्रमुख मादेनले बताए। 

सूर्योदयको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि भ्यू प्वाइन्टको नजिकै टी हाउस निर्माण गर्ने योजना रहेको छ। 

सदरमुकाम फुङलिङदेखि कालोपत्रे सडक हुँदै पाँच किलोमिटर दूरीमा सुकेटार विमानस्थल पर्दछ र सुकेटारदेखि करिब एक किलोमिटरमा गुप्ते डाँडा पर्दछ। सूर्योदय हेर्न जानेका लागि गुप्तेमा गाडी पार्किङस्थल निर्माण गरिएको छ भने  गाडी पार्किङ गरेर करिब १० मिनेट हिँडेर भ्यूटावरसम्म पुग्न सकिन्छ।

प्रकाशित: Nov 05, 2022| 10:35 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।