ललितपुर- जुम्लाको सिंजा उपत्यकामा रहेको प्रसिद्ध कनकसुन्दरी माईको मन्दिर ललितपुरको लेलेमा प्रतिमूर्ति स्थापना गरिएसँगै कनकसुन्दरीको दर्शन गर्ने भक्तजनहरुको भिड लाग्न थालेको छ। विकट जिल्ला जुम्ला पुग्न कठिन भएका कारण देवीको दर्शन गर्न चाहने दर्शनार्थीहरुका लागि काठमाडौं उपत्यकाभित्रकै लेलेमा कनकसुन्दरी माईको प्रतिमूर्ति स्थापना गरि प्राण प्रतिष्ठा गरिएको मन्दिरका पुजारी दुर्गाहरी नेपालले जानकारी दिए।
खस जातीहरुको इष्टदेवका रुपमा परिचित ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्व बोकेको कनकसुन्दरी नवदुर्गाको नौ रुपमध्ये एक हो। लेले आफ्नै धार्मिक महत्व बोकेको पर्यटकिय गन्तव्य हो। खस जातीहरुको उद्गम स्थल जुम्लामा यी देवीलाई आराध्यदेवीको रुपमा मान्ने मात्र होइन सिजा उपत्यका कनकसुन्दरीकै नाममा प्रख्यात समेत रहेको पूर्व प्रमुख जिल्ला अधिकारी एवम् लेलेका स्थानीय समाजसेवी अम्बिका केसी सिजापतीको भनाई छ। उनले ललितपुरको लेलेलाई धार्मिक पर्यटकिय गन्तव्यको रुपमा विकास गरिनुपर्नेमा जोड समेत दिए।
यसरी जुम्लाबाट लेले आइपुगिन कनकसुन्दरी
काठमाडौं उपत्यकामा खस संस्कृतिको विस्तार र विकास हुँदै गएपछि आराध्यदेव देवी कनकसुन्दरी माईलाई जुम्लासम्म पुगेर दर्शन गर्न समस्या भयो। त्यसपछि लेलेका स्थानीय दुर्गा बहादुर सिजापति ०७२ बैशाख ३ गते जुम्ला पुगे। सिंजा उपत्यकामा अवस्थित मन्दिरभित्र पुजारीबाहेक अन्य भक्तजनलाई प्रवेश थिएन। बाहिरबाटै पुजा गर्ने परम्परा थियो।
सिजापतिले कनकसुन्दरीको प्रतिमूर्ति लेले लगेर प्राणप्रतिष्ठा गर्ने इच्छा व्यक्त गरेपछि त्यहाँका गुरु प्यारालाल उपाध्यायले प्रभावित भएर मन्दिर प्रवेश गर्न दिए। गुरुकै स्वीकृतिपछि उनले कनककुन्दरी माईको फोटो खिचेर त्यही स्वरुपमा मूर्ति निर्माण कार्य शुरु गरे। दुर्गाबहादुर आफैंले मन्दिर निर्माणको जिम्मा लिएर लेलेबासीको सहयोगमा मन्दिरको निर्माण सम्पन्न भयो। अहिले लेलेबासीले निर्माण गरेको मन्दिरमा कनकसुन्दरी माईको प्राण प्रतिष्ठा गरिएको छ। मन्दिरसँगै काली, लामागुरु, जालपादेवी र बडिमालिकाको मूर्ति र मन्दिर समेत स्थापना गरिएको छ।
बिशेष गरि बडा दशैं र मंसिर पूर्णिमामा माईको दर्शन गर्ने प्रचलन रहेको र लेलेमा मूर्ति स्थापना भएसँगै धार्मिक पर्यटनको विकास हुने मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष दिपेन्द्र विक्रम सिजापतिले जानकारी दिए।
टिकाभैरव-लेलेलाई धार्मिक सर्किट घोषणा गर्न माग
ललितपुरको टिकाभैरव-लेलेको साढे दुई किलोमिटर क्षेत्रलाई धार्मिक सर्किट घोषणा गर्न स्थानीयले माग गरेका छन्। स्थानीय जनकबहादुर सिजापतिले प्रसिद्ध कनकसुन्दरी, सरस्वतीकुण्ड, तिलेश्वर महादेव, मनकामनालगायतका ऐतिहासिक र पुरातात्विक महत्वका धार्मिक सम्पदा यस क्षेत्रमा रहेकाले धार्मिक सर्किट घोषणा गरि धार्मिक पर्यटनको विकास गर्न माग गरे।
पूर्व प्रशासक अम्बिका केसीले ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्व बोकेको टिकाभैरव-लेले आफैंमा पुरानो शहर भएको र सम्पदाले परिचित यस क्षेत्रको धार्मिक विकास गर्न सरकारसँग आग्रह गरे।
लेलेका ५ वटा मन्दिरका पुजारी समेत रहेका गुठी संस्थानका पुजारी दुर्गाहरी नेपालले टिका भैरबदेखी लेलेसम्मको साढे दुई किलोमिटर क्षेत्रमा रामेश्वर महादेव, मनेश्वर महादेव, चम्पकेश्वर महादेव, जयल कुमारी, बालकुमारी, सरस्वतीकुण्ड, ज्ञानकुण्ड, पार्वतीकुण्ड, पशुपतीनाथ मन्दिर, तिलेश्वर महादेव, मनकामना मन्दिर, फुल्चोकीदेवी माई, कनकसुन्दरीलगायतका ऐतिहासिक र पुरातात्विक सम्पदा रहेकाले धार्मिक सर्किटका रुपमा विकास गर्न सकिने बताए। स्थानीय नवराज सिजापतिले पुरानो शहर लेलेलाई धार्मिक शहरका रुपमा विकास गर्न समेत माग गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४