बुटवल- रुपन्देहीको सम्मरीमाई-५ मा शुक्रबार भएको चुनावी बहस कार्यक्रममा तनाव भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कुर्सी हानाहान भएको जानकारी दिएको छ।
निर्वाचन लक्षित प्राइम टेलिभिजनको चुनावी बहस कार्यक्रममा उपस्थित दर्शकबीच विवाद हुँदा शिक्षक घाइते भएका छन्।
कुर्सी हानाहानमा स्थानीय लालविहारी माविका प्राचार्य मुरलीधर शुक्ला घाइते भएका हुन्। घाइते शुक्लाको ओठमा १७ वटा टाँका लगाइएको छ। बाँकी केहीलाई सामान्य चोट लागेको लोकतान्त्रिक समाजवादी नेपाल पार्टीका लुम्बिनी प्रदेश कार्यकारी सदस्य सन्दीप त्रिपाठीले बताएका छन्।
रुपन्देही-४ का चार प्रतिस्पर्धीसँग चुनावी बहस भइरहेको थियो। कार्यक्रममा स्थानीय र समर्थक पनि उपस्थित थिए। कार्यक्रममा उम्मेदवारले बोल्दै गर्दा होहल्ला भई कुर्सी हानहान र ढुङ्गा प्रहार भएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका प्रमोद यादव, लोसपाका सवेन्द्रनाथ शुक्ला, जनमतका भोपेन्द्र यादव र जसपाका ओमप्रकाश यादव गुल्जारी उपस्थित थिए। उम्मेदवारले भनाइ राख्ने क्रममा कार्यकर्ताबीच भनाभन भएपछि तनाव सिर्जना भएको थियो।