ललितपुर- जिल्ला निर्वाचन कार्यालय ललितपुरले पुल्चोकमा गरेको नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिका वडा नं ३ मदनस्मारक माविमा भएको नमूना मतदानमा ४८ पुरुष र ७४ महिला गरी १२२ जना सहभागीले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोमा धमला घिमिरेले जानकारी दिइन्।
प्रमुख धमलाले मतदान गर्ने तरिकाबारे जानकारी दिन नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको बताइन् । ललितपुरका ६ वटै स्थानीय तहमा नमूना मतदान कार्यक्रम गर्ने प्रमुख धमलाले बताइन्।
आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन कार्यालयले सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन गर्न लागेको हो।
ललितपुर महानगरपालिकाबाट सुरु भएको यो कार्यक्रम कात्तिक २० गते गोदावरी नगरपालिकाको वडा नं। ११ मा हुने छ। जिल्लाका अन्य चार स्थानीय तहमा भने कात्तिक २७ गते पछाडि मात्रै सञ्चालन हुने धमलाले बताइन्। नमूना मतदानमार्फत मतदानका विषयमा आवश्यक जानकारी दिन लागिएको प्रमुख धमलाको भनाइ छ।
नमूना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ। आसन्न निर्वाचनमा एक मतदाताले प्रत्यक्ष र समानुपातिक गरेर चार मतपत्रमा मतदान गर्नुपर्नेछ।
निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन मतदाता शिक्षा सञ्चालनको पनि तयारी भएको छ। समुदाय स्तरमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने जनाइएको छ। जिल्लामा दुई लाख ५० हजार चार सय १० मतदाता रहेका छन्।