काठमाडौं– जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको कसुरमा किटानी जाहेरी दिने किशोरीको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति झिकाउन आदेश दिएको छ।
मुद्दाको थुनछेक बहसका क्रममा लामिछाने पक्षका वकिलले जाहेरीकर्ता नाबालिग नभएको दाबी गर्दै उनको जन्ममितिमा विवाद भएको जिकिर गरेका थिए। उनीहरुले किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको विवरण अदालतमा पेश गरेको बताइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा पेश गरेको कागजातमा भने उनको जन्म मिति २०६२ जेठ १८ गते छ।
थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले ‘लामिछाने निर्दोष रहेछन् भनी मान्न मिलेन’ भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका छन्। अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ।
थुनामा पठाउने आदेशसँगै न्यायाधीश घिमिरेले पीडितको जन्मदर्ताको अभिलेख किताबसहितको सक्कल प्रति पनि सम्बन्धित कार्यालयबाट झिकाउन आदेश दिएका छन्। साथै, पीडितले नागरिकता प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारमसहितको प्रतिलिपि पनि झिकाउन भनेका छन्।
मुद्दा निरन्तर सुनुवाइ गर्नुपर्ने प्रकृतिको भएकोले जाहेरवाला, पीडित, बुझिएका मानिसहरु र पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई ७ मंसिरमा बकपत्रका लागि उपस्थित गराउन आदेशमा भनिएको छ।