काठमाडौं- चितवन-१ मा भइरहेको घरदैलो तथा मत माग्ने सभामा अर्थशास्त्री डा स्वर्णीम वाग्ले पनि सहभागी हुने भएका छन्। चितवन-१ बाट नै उम्मेदवार बन्नका लागि कांग्रेसबाट सिफारिसमसा परेपनि उक्त स्थानको टिकट अर्का अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डा विश्व पौडेललाई दिइएपछि उनीहरूबीच सम्बन्धमा फाटो आएको भनिँदै आएको थियो। तर त्यसलाई चिर्नका लागि पनि डा वाग्ले डा पौडेललाई भोट माग्ने कार्यक्रममा सहभागी हुने भएका हुन्।
विगतमा एमालेले जित्दै आएको स्थानमा डा वाग्लेलाई रुचाउने जमातले डा पौडेललाई मत नदिए विजयी हुन गाह्रो हुने विश्लेषण भइरहेका बेला डा वाग्ले चितवनको घरदैलोमा सहभागी हुने भएपछि पौडेललाई केही सहयोग हुने आकलन गर्न थालिएको छ। पौडेलका प्रतिस्पर्धीका रूपमा एमालेले सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाएको छ। उनी पूर्वअर्थमन्त्रीसमेत हुन्।
स्वर्णीम विभिन्न क्षेत्रमा कांग्रेस उम्मेदवारलाई मत माग्ने सभाहरूमा सहभागी हुने बताउँदै आएका छन्। उनले फेसबुकमा कात्तिक १९ गते काठमाडौँ-५ मा प्रदीप पौडेललाई, दिउँसो प्रज्ञा भवनमा उज्ज्वल थापाको पुस्तक विमोचन गरेर साँझ झापा पुग्ने कार्यक्रम रहेको र आइतवार मोरङ जान लागेको जानकारी दिएका छन्।
वाग्ले र पौडेल दुवै कुनै बेला कांग्रेसमा एकै समूहको राजनीतिमा सक्रिय थिए। पछिल्लो समय पौडेल देउवा समूहमा सामेल हुँदा वाग्ले भने महामन्त्री गगन थापा निकट मानिन्छन्। चुनाव पछि गगन थापालाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा सार्वजनिक रूपमा नै राख्दै आएका छन्। फरक समूहमा क्रियाशील भएसँगै उनीहरूबीच सम्बन्धमा फाटो आएको कुरा जोडिँदै आएको थियो।
कांग्रेसको घोषणापत्र लेखनमा सक्रिय भूमिका निभाएका वाग्ले फरक पार्टीका कार्यकर्ताहरु पनि आकर्षण गर्न सक्ने क्षमता राख्छन्। पौडेलमा पनि ज्ञानको दायरा उतिकै फराकिलो भएपनि उनको प्रस्तुतिले धेरैलाई नलोभ्याउने टिप्पणी हुने गरेको छ।
स्वर्णिमले आफू सकेसम्म देशभरका निर्वाचनमा क्षेत्रमा चुनाव प्रचारमा जाने बताएका छन्। 'सोमबार चितवन पुग्छु,' उनले भने, 'चितवन-१ का उम्मेदवार विश्वजीका एक/दुई चुनावी सभामा सहभागी हुने हो।'