काठमाडौं- निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक मतपत्र छप्ने काम सम्पन्न गरेको छ।
निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको हो।
आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छपाइको जिम्मा दिएको थियो। शुक्रबार जनक शिक्षा सामग्रीमा मतपत्र छपाई सम्बन्धी अवलोकन गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने समयावधि भन्दा दुई दिन अगावै सबै मतपत्र छापिएको बताए।
उनले ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छपाई सकिएको र नमूना मतपत्र २२ लाख गरी कूल करिब ८ करोड २५ लाख मतपत्र छपाई भएको बताए।
निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको र प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा चाँडै मतपत्र ढुवानी हुने बताए।
समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र भने यसअघि नै छपाई सम्पन्न भइसकेको आयोगले जनाएको छ।
आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता छन्।
यी मतदाताहरूले समानुपातिक तथा प्रत्यक्ष दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ। जसअनुसार आगामी निर्वाचनका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ।