काठमाडौं- नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको आगामी १६-१८ कात्तिकमा हुने १२ औं महाधिवेशनमा एक दर्जन नेता अध्यक्षको दाबेदार देखिएका छन्।
नेविसंघ केन्द्रीय कार्यसमितिको मंगललबार साँझ सम्पन्न बैठकले महाधिवेशनको मिति तोक्ने निर्णय गरेसँगै अध्यक्षमा पार्टीका छ गुटका एक दर्जन विद्यर्थीले आकांक्षा देखाएका छन्।
अध्यक्षमा संस्थापन पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, उपाध्यक्ष विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकशमान सिंह निकटका विद्यार्थीहरुले तिनै नेताको संरक्षणमा अध्यक्षको दाबी गरेका हुन्। एउटै गुटबाट दुईभन्दा बढी नेताले आकांक्षा देखाएपछि उनीहरुको व्यवस्थापन गर्न पार्टीका नेतालाई समेत सकस परेको छ।
नेविसंघ केन्द्रीय कार्य समिति बैठकले ११ औं महाधिवेशनद्वारा पारित संघको सदस्य बन्न ३२ बर्ष उमेर कट्न नहुने प्रावधानलाई खुल्ला छोड्ने निर्णय गरेपछि अध्यक्षको दाबेदारको संख्या बढेको हो। केन्द्रीय समितिले स्वीकृत गरेको नेविसंघको विधान कांग्रेस केन्द्रीय कार्य समितिले अनुमोदन गर्न भने बाँकी छ।
नेविसंघ स्रोतका अनुसार सभापति देउवा निकटको संस्थापन पक्षबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष पुष्पकुमार शाही र पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाह प्रमुख दाबेदारको रुपमा देखिएका छन्।
शाहीको सम्वन्ध सभापति देउवापत्नी डा. आरजु राणा देउवासँग घनिष्ट रहेको छ। उपाध्यक्ष शाहको सम्बन्ध सभापति देउवा र केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष किशोरसिंह राठौरसँग घनिष्ठ छ।
संस्थापन पक्षकै नेता उपसभापति विमलेन्द्र निधिले भने नेविसंघ महामन्त्री सरोज थापालाई अध्यक्षको रुपमा अघि सारेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाट भने सबैभन्दा धेरै तीन जनाले दाबी गरेका छन्। नेविसंघको ११ औं महाधिवेशनमा अध्यक्षमा पराजित मनोजमणी आचार्य, महामन्त्रीमा पराजित हिमालदत्त श्रेष्ठ र दीपक भट्टराईले अध्यक्षमा दाबी गरेका छन्।
आचार्यलाई उम्मेदवार बनाए मात्र प्रतिष्पर्धीलाई हराउन सक्ने भन्दै उनको नाम पौडेल गुटका धेरै नेताले लिएका छन्। आचार्यलाई संस्थापन पक्षको भए पनि प्रवक्ता विश्वप्रकाश शर्मा समेत सघाउन तयार भएको बुझिएको छ। भट्टराईलाई अध्यक्ष बनाउन नेविसंघ पूर्वअध्यक्ष गोविन्द भट्टराईले जोडबल गरेका छन्।
नेता पौडेल भने कसलाई अघि सार्ने भनेर निष्कर्षमा पुग्न सकेका छैनन्। पौडेल आचार्यलाई पार्टी राजनीतिमा ल्याउन चाहन्छन। उनी तनहुँबासी दीपक भट्टराई र श्रेष्ठमध्ये एकलाई अध्यक्षमा उठाउन चाहन्छन्।
पौडेल गुटबाट महामन्त्रीमा निर्वाचित डा कोइरालाले भने धादिङकी उर्मिला थपलियालाई अघि सार्ने निष्कर्षमा पुगेका छन्। कोइरालाको दबाब र सहयोगमा आफूले अध्यक्षको टिकट लिँदा पौडेल गुटले सहयोग नगरेमा थपलिया निलकण्ठ रिजाललाई अघि सार्ने सुरमा छिन्।
संस्थापन पक्षमै रहेका पूर्वमहामन्त्री प्रकशमान सिंहले अध्यक्षमा नेविसंघका हालका उपाध्यक्ष नविन राईलाई अघि बढाउन चाहन्छन्।
कृष्णप्रसाद सिटौला गुटबाट भने कुन्दन काफ्ले सर्बसम्मत रुपमा अध्यक्षका आकांक्षी छन्। काफ्लेलाई नेविसंघका पूर्वअध्यक्ष प्रदीप पौडेल र पूर्वमहामन्त्री गगन कुमार थापाले समेत सघाएका छन्।
संस्थापन पक्षका सहमहामन्त्री डा प्रकाशशरण महतले भने नेविसंघमा उमेरको हदबन्दी लगाएमा संस्थापन पक्ष कमजोर हुने भन्दै सभापति देउवालाई उमेर हद लगाउन दबाब दिएका छन्। सभापति देउवाले डा महतको कुरा सुनेर अध्यक्ष महरलाई झपारेका थिए।
उमेर हद ३२ बर्ष राख्न सभापति देउवाले दाबी गरेमा सहमहामन्त्री डा महतले आफू निकटका प्रेमराज जोशीलाई अघि सार्ने योजनामा छन्। वर्तमान अध्यक्ष महर भने उमेर हद लागू गरिए अछामकी अम्बिका चलाउनेलाई अध्यक्ष बनाउने योजनामा छन्।
पौडेल गुटले कोषाध्यक्ष शिव रिमाललाई, डा कोइरालाले सागर परियारलाई अघि सार्ने योजना बनाएका थिए। सिटौला गुटबाट भने उमेर हदबन्दी लगाएमा शुशील भट्ट, डोजाङ शेर्पा, नवराज त्रिपाठी र गणेश सापकोटा अध्यक्षका आकांक्षी छन्।
उमेर हदबन्दी नलागेपछि सिटौला गुटलाई भट्ट, शेर्पा, त्रिपाठी र सापकोटालाई कुन पदमा उम्मेदवार बनाउने भन्ने सकस परेको छ। उमेरको हदबन्दी नेपाल विद्यार्थी संघमा लगाउने हो भने अन्य भातृ संस्था र पार्टीमा समेत लगाउन नेविसंघ केन्द्रीय कार्य समिति बैठकमा अधिकांस नेताहरुले धारणा राखेपछि विधानमा भएको ३२ बर्षे उमेर हद हटाउन सर्वसम्मतले निर्णय भएको थियो।
नेविसंघका उमेर हदबन्दी लगाउनु पर्ने पक्षमा संस्थापन पक्षका डा. महत र डा कोइराला पक्षका डा मिनेन्द्रप्रसाद रिजाल र गुरुराज घिमिरे उभिनु भएको छ। तर वरिष्ठ नेता पौडेल भने पार्टी वा संगठन हाक्ने उमेरले नभई विचार र योगदानले हो भन्दै हिँडेका छन्।
महाधिवेशनको कार्यतालिका यस्तो छ
असोज ७ गते आइतबार माध्यमिक विद्यालय र क्याम्पसको, १२ गते महानगर, उपमहानगर, नगर र गाउँपालिकाको र १५ गते प्रदेश क्षेत्रको अधिवेशन गर्ने कार्यक्रम छ। २१ गते जिल्ला अधिवेशन ७७ जिल्ला र विदेशस्थित सम्पर्क समितिको र २३ गते उपत्यका क्याम्पस अधिवेशन गरिने भएको छ।
त्यस्तै, कात्तिक १० र ११ गते सात वटै प्रदेशको महाधिवेशन गरी १२ गते अध्यक्षबाट महाधिवेशन प्रतिनिधिहरुको मनोनयन गरिने कार्यसूचि अघि सारिएको छ। १३ गते महाधिवेशन प्रतिनिधिहरुको नामावली पहिलो पटक प्रकाशन गर्ने, १४ गते नामावलीमाथि दावी विरोध र उजुरी दर्ता गर्ने तथा १४ गते ५ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम रहेको छ । महाधिवेशनबो उद्घाटन १६ गते, अधिवेशनको बन्द सत्र १७ गते र मतदान १८ गते हुनेछ।
नेविसंघ केन्द्रीय समितिले अध्यक्ष महरको संयोजकत्वमा १००१ सदस्यीय मूल आयोजक समिति गठन गरेको केन्द्रीय सदस्य सुशील भट्टले नेपाल समयलाई बताए ।
उनका अनुसार बैठकले भोजन तथा आवास समिति, प्रचार-प्रसार समिति, आर्थिक समिति, यातायात, नीति तथा कार्यक्रम, शैक्षिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, राजनीतिक प्रतिवेदन, स्वास्थ्य समिति, मञ्च व्यवस्थापन समिति, आथिक प्रतिवेदन, अतिथि सत्कार, स्वयंसेवक, कार्यसम्पादन मुल्यांकन समिति गठन गर्ने निर्णय भएको बताए।
बैठकले अध्यक्ष महरको संयोजकत्वमा उपाध्यक्ष र महामन्त्रीहरुको ६ सदस्यीय समावेस गरी केन्द्रीय समितिमा उठेका बिषयलाई समेटेर २७ भदौभित्र संशोधित विधान र नियमावली-२०७५ पार्टीलाई बुझाउने निर्णय भएको छ। विधान र नियमावली अनुमोदन हुनासाथ क्याम्पस र जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने महामन्त्री कुन्दनराज काफ्ले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४