भक्तपुर- भक्तपुरको सानो थिमिमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा थप तीन जना घाइते भएका छन्।
घाइते मध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको छ। एक जना सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी परिसरले जनाएको छ।
बिहीबार साँझ मध्यपुर थिमि नगरपालिका-२ सानो थिमि हलेसी मार्ट नजिकको भित्रि सडकमा बागमती ए एए २६८७ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०३७ प १८५२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाइ छ।
दुर्घटनामा स्कुटी चालक मध्यपुर थिमि नगरपालिका वडा नम्बर-२ मगरगाँउ बस्ने ३५ वर्षीया पुष्पा थापा मगर, उनका ७ वर्षीय छोरा समर्जन थापामगर र मोटरसाइकल चालक झापा कमल गाँउपलिका घर भई हाल सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोट बस्ने १८ वर्षीय करण दाहाल र मोटरसाइकलमा पछाडी सवार धादिङ गजुरी गाँउपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौं नयाँबजार बस्ने १७ वर्षीया आयुषा सुवेदी घाइते भएका थिए।
घाइते मध्ये आयुषा सुवेदीको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमिमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेका अनुसार घाइते मध्ये पुष्पा र समर्जनको बी एण्ड बी अस्पताल ललितपुर ग्वार्कोमा उपचार भइरहेको छ।
अर्का घाइते करण नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचारपछि डिस्चार्ज भएको र प्रहरीको नियन्त्रणमा रहेको प्रनाउ पाण्डेले बताए। दुर्घटनामा संलग्न दुबै सवारी साधन प्रहरी प्रभाग सानोथिमीको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ।