शुक्रबार, साउन १, २०८३

अटोमोबाइल क्षेत्रको कुम्भ मेला शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-अटोमोबाइल क्षेत्रको कुम्भ मेलाको रुपमा रहेको १३ औं नाडा अटो शो–२०१८ मंगलबारदेखि शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी शोको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् । उनले उद्घाटनका क्रममा मुलुकको अर्थतन्त्र सम्बन्धमा जानकारी गराउदै ऋणमा आधारित उपभोगले मुलुकको दिगो विकास नहुने बताए ।
 
‘मुलुक अधिकाश वस्तु तथा सामग्रीमा आत्मनिर्भर छैन,’ उनले भने ‘त्यसैले ऋण तिर्ने क्षमता विकास नगरिकन गाडी नकिन्नुहोस् ।’ उनले गाडी ऋण लिएर गाडी नकिन्न अटोमोबाइल क्षेत्रका ग्राहकहरुलाई सुझाब दिए ।

त्यस्तै उनले अटोमोबाइल क्षेत्रले राजस्व वृद्धि गरेको स्वीकार गर्दै भने, ‘जबसम्म मुलुकको आन्तरिक राजस्व वढ्दैन तबसम्म अटोमोबाइल क्षेत्रको राजस्व घटाउन सकिन्दैन ।’

अर्कोतिर सरकारले विद्युतीय ठूला सार्वजनिक यातायातलाई प्राथमिकतामा राखेको उनले बताए । अटोमोबाइल व्यवसायीहरुले माग गरेको वृहत्त प्रदर्शनी स्थलको सम्बन्धमा समेत निजी क्षेत्रले राजधानी नजिक साझा ठाँउको निक्र्यौल गरे सरकारले प्रदर्शनी स्थाल बनाउन सहयोग गर्ने बताए । 

अटोमोबाइल सम्बन्धीनै रहेको गोरखकाली टायर पुनः कुनै निजी क्षेत्रले उत्पादन गर्न चाहे सरकारले सञ्चालन गर्न दिने उनले जानकारी दिए । ‘त्यस्तै अटोमोबाइल क्षेत्रमा प्रदान गर्ने कर्जालाई सरकारले पुनरावलोकन गर्न तयार छ,’ उनले भने ‘त्यसका लागि कति ठाउँ छ हामी हेर्दैछौं ।’



कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सवैभन्दा बढी राजस्व प्राप्त हुने क्षेत्र अटोमोबाइलको महत्वलाई अझै बुझ्न नसकेको गुनासो गरिन् । 

‘सरकारले अटोमोबाइल तथा त्यस सम्बन्धी एसेम्बल फ्याक्ट्री खोल्नका लागि मजवुद प्याकेज लिएर उद्योगीहरुलाई सहयोग गर्नुपर्छ,’ उनले भनिन् ‘जसबाट मुलुकको व्यापार घाटामा न्यूनीकरण गर्न सहयोग पुग्छ ।’

उनकाअनुसार इलेक्ट्रीक भेहिकलहरुको आयात बढिरहेको छ । त्यसको लागि आवश्यकताअनुसार चार्जिङ स्टेशन खोलेर सहयोग गर्नुपर्छ । 

गुणस्तरीय सडकको विकास, अटो लोन पुनरावलोकन, साफ्टाको सुविधालाई कार्यान्वयन गनुपर्ने लगायतमा सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ । 

नाडाका अध्यक्ष शम्भु दाहालले सरकारलाई अटोमोबाइल क्षेत्रबाट सबैभन्दा बढी एक खर्ब ५ अर्ब राजस्व बुझाउने गरेको  बताए । उनकाअनुसार उक्त राजस्व सरकारले उठाउने कुल राजस्वको १५ प्रतिशतभन्दा पनि बढी हो ।

‘अहिले मुलुकमा ५ प्रतिशतले मात्र गाडी चढ्ने गरेको छ,’ उनले भने ‘सवारी साधनको  भन्सार शुल्क सरकारले बढाएर २५६ प्रतिशत पुर्‍याएको छ ।’
उनले भन्सार दरलाई केही कम गरेर वढीभन्दा बढी नेपालीमाझ सवारी साधनको पहुँच पुर्‍याउनु पर्दछ । साथै थप  सडक विस्तारसँगै स्तरउन्नतिमा सरकारले ध्यान दिनु पर्ने उनको माग छ ।



विगत दुई दशक लामो यात्रालाई निरन्तरता दिदै नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल तथा ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त उक्त शो आयोजनामा शुरु भएको छ । 

४–पाङग्रे, २–पाङग्रे र अटो कम्पोनेन्ट्सको अत्याधिक मागलाई ध्यानमा राखी तीनवटा ह्याङ्गरहरू राखिएका छन् । प्रदर्शनीमा १९ वटा ब्राण्डका ४–पाङग्रे तथा २० वटा ब्राण्डका  २–पाङग्रे सवारी साधनहरू रहने रहेका छन् । 

पैठारीकर्ता, डिलर, उत्पादक तथा विक्रेता गरी शोमा ७१ कम्पनीहरूको सहभागिता छ भने साना ठूला गरि १३४ वटा ब्लक तथा स्टलहरू राखिएको छ ।

प्रदर्शनीमा लोकप्रिय ब्राण्डका सवारी साधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरू लगायत नेपालमै उत्पादित सामग्रीहरू समेत राखिएकोछ ।

प्रदर्शनीमा ६ अर्ब रुपैयाँको आर्थिक कारोबार तथा ६० हजार आगन्तुकहरूले प्रत्यक्ष अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।