काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिले पार्टी सभापति शेरबहादुर देउवा पक्षले क्रियाशील सदस्यतामै अनियमितता गरेको ठहर गरेको छ। सोमबार क्षेत्रपाटीमा सुरु भएको पौडेल पक्षका जिल्ला सभापतिहरूको भेलाले नेतृत्वले अपारदर्शी ढंगले क्रियाशील सदस्यतामा अनियमितता गरेकव निष्कर्ष निकालेको हो।
नुवाकोट कांग्रेसका सभापति जगदिश्वरनरसिंह केसीले देउवा पक्षले क्रियाशील सदस्यतामा घोर अनियमितता गरेको आरोप लगाए। देउवा पक्षले अहिले पनि अपारदर्शी रूपमा छानबिन भन्दै कुन वडामा कति मत भए अरूलाई हराउन सकिन्छ भनेर हिसाब गरीगरी सदस्य थप गर्ने काम गरिरहेको जिकिर गरे।
भेलामा सहभागी जिल्ला सभापतिहरूले देउवा पक्षले महाधिवेशन टार्न खोजेको समेत आरोप लगाएका थिए। नेतृत्वले धाँधली गर्ने मनशाय नत्यागे विशेष महाधिवेशनमा जानुपर्ने आवाज उठेको केसीको भनाइ छ।
यस्तै भेलाले क्रियाशील सदस्यताको विवरण तत्काल वेबसाइटमा राख्न मागसमेत गरेको छ। क्रियाशील सदस्यता सूची वेबसाइटमा राखी जिल्ला कार्यसमितिको सुझावका आधारमा त्रुटि सच्याउनुपर्ने ती सभापतिहरूको माग छ।
अहिलेको अपारदर्शी सूचीबाट महाअधिवेशन सम्भव नभएको निष्कर्ष भेलाले निकालेको कांग्रेस काभ्रेका सभापति मधु आचार्यले जानकारी दिए। यस्तै पार्टीको वैधानिकता जोगाउन महाधिवेशन समयमै गर्नुपर्ने भेलाको निष्कर्ष छ।
भेलामा ३५ जिल्लाका सभापति सशरीर उपस्थित भएका थिए भने थप १२ जिल्ला सभापतिहरू भर्चुअल माध्यमबाट जोडिएको जानकारी केसीले दिए।