काठमाडौं– सोमबार बिहानै भैरहवा–परासी सडक खण्डको ओमसतिया गाउँपालिका–४ पननीमा एउटा कार दुर्घटनाग्रस्त भयो। पैदल यात्रुलाई ठक्कर दिएर कार भाग्यो। घटनामा एक शिशुसहित तीनजनाले ज्यान गुमाए।
यात्रुलाई ठक्कर दिएर भागेका कार चालकलाई मंगलबार रुपन्देही प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रविन्द्र रेग्मीका अनुसार दुर्घटना गराउने कार बा ८ च ६५३२ नम्बरको टाटा इण्डिका (भिष्टा) हो। फिक्का निलो रंगको उक्त कारका चालक थिए रोहिणी गाउँपालिका–३ धकधईका २३ वर्षिय अजयकुमार चौधरी। चौधरीलाई प्रहरीले सिद्धार्थनगर–४ गल्लामण्डीबाट मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना गराएको कार चौधरीले गल्लामण्डी पिप्रहीयामा त्रिपालले छोपेर राखेका थिए।
यसरी समातिए चौधरी
घटना घटाएपछि कार चालक चौधरी सिधै भैरहवातर्फ गए र पिप्रहीयामा कारलाई त्रिपालले छोपेर राखे। प्रहरीले घटनास्थलमा कारको अगाडिको बम्परको टुक्रा, भाँच्चिएको वाइपरको टुक्रा र लुकिङ ग्लास फेला पारेको थियो। सोही सामानको आधारमा प्रहरीले अनुसन्धान अघि बढायो।
प्रहरीले क्लुको रुपमा कारको अघिल्लो भागको लाइटभन्दा माथि रहेको तारा चिन्ह भएको स्टिकरलाई बनाएको थियो। सोही चिन्ह नै ठक्कर दिने कार पहिचान गर्ने क्लु बन्यो। प्रहरीका अनुसार कारधनी तथा चालक चौधरीको धकधईमा ड्राइभिङ इस्न्टिच्युट पनि रहेको छ।
घटनापछि सोमबार दिउँसो नै जिल्ला प्रहरी कार्यालयले कारको हुलियासहित २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरी आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा सूचना जारी गर्यो। सूचनासँगै सोही हुलिया भएको कार धकधईको कुनै व्यक्तिको हुन सक्ने सुराक प्रहरीले फेला पार्यो। फेसबुक पेजमै प्रहरीले ठक्कर दिने कार चालकको नाम र हुलिया पनि प्राप्त गर्यो। चौधरीले सोही कारको अघि त्यही तारा चिन्ह देखिने गरी फोटो खिचेर फेसबुकमा राखेका रहेछन्।
त्यही फोटोले दुर्घटना गराउने कार र चालकको पहिचान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यही सुराक पछ्याउँदै प्रहरीले घटना घटेको १२ घण्टाभित्रै कार र कार चालक फेला पारेको छ। १२ घण्टाको अवधिमा प्रहरीले भैरहवा–परासी खण्डको सिसिटिभी फुटेज, विभिन्न कार कम्पनी तथा सर्भिस सेन्टरमा पुगेर हुलियासहितको कारको बारेमा जानकारी लिइसकेको थियो। कारको क्षतिग्रस्त टुक्रासहितको तारा चिन्ह फेसबुकमा राखिएपछि अनुसन्धान थप सहज भएको प्रहरीले बताएको छ।
प्रहरीसँगको बयानका क्रममा चालकले दुर्घटना कसरी भयो भन्ने आफूलाई थाहै नभएको र एक्कासि ठक्कर दिएपछि थाहा भएको बताएका छन्। प्रहरीका अनुसार उनले घटना हुँदा मादक पदार्थ भने सेवन गरेका थिएनन्।
चालक चौधरी छठ पर्व हेर्न भनेर निस्केका थिए। दुर्घटनामा ओमसतिया गाउँपालिका वडा नम्बर ४ पननिमा छठ पूजामा सहभागी हुन गइरहेका दुई महिनाका शिशु श्रीराम कुर्मी, २८ वर्षिय परमशिला कुर्मी र १४ वर्षकी सिमा कुर्मीको मृत्यु भएको थियो भने २६ वर्षिय मञ्जु कुर्मी र २४ वर्षकी बन्दना कुर्मी घाइते भएका थिए।