शुक्रबार, वैशाख १४, २०८१

नेपथ्यको एक महिने सांगीतिक यात्रा

आगामी १६ मंसिरदेखि १६ पुससम्म नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारीमा नेपथ्यले यसपालि ‘मानवता प्रवद्र्धन अभियान’ मा सहभागी हुँदै सांगीतिक प्रस्तुति पस्किनेछ।
 |  मंगलबार, कात्तिक १५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १५, २०७९

काठमाडौं– लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गरी सांगीतिक यात्रा गर्दै आएको नेपथ्य अब फेरि नयाँ नारासहित  एक महिने देशव्यापी सांगीतिक यात्रामा जाने भएको छ ।

triton college

आगामी १६ मंसिरदेखि १६ पुससम्म नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारीमा रहेको यो ब्यान्डले यसपालिदेखि नयाँ अठोटका रुपमा ‘मानवता प्रवद्र्धन अभियान’ मा सहभागी हुँदै छ ।

यसभन्दा पहिले विद्यालयमा हतियारधारीको हस्तक्षेप हटाउन ‘शान्तिका लागि शिक्षा’ र द्वन्द्वको चक्रबाट मुलुकलाई मुक्त गर्ने कामनाका साथ ‘सुन्दर शान्त नेपाल’ जस्ता अभियान नेपथ्यकै सक्रियता एवं सहभागितामा अघि बढेका थिए।

यस्ता अभियानमा नेपथ्यले गीत सुनाउनुका साथै आफूले उठाएको नारालाई अथ्र्याउने प्रयास गरेको थियो। यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दै आएको नेपथ्यले अब भने ‘मानवताका लागि संगीत’ मार्फत मानवीय आयामलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको हो।

यो प्रणलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ। घरपरिवार र आफन्तविहीन भई वा परिवार र समाजबाट अपहेलित भई मानसिक रोग लागेका मानिसको सेवामा समर्पित मानव सेवा आश्रम एक दशकयता सक्रिय छ।

corrent noodles
Metro Mart

यो संस्थाले तीन वर्षभित्र सिंगो मुलुकलाई सहयोगापेक्षी सडक आश्रित मानवरहित तुल्याउने संकल्प बोकेको छ। ‘मानवताका लागि संगीत’ कार्यक्रमको पहिलो प्रस्तुति विराटनगरमा हुनेछ। १६ मंसिर शुक्रबार विराटनगरस्थित ‘हाटखोला मैदान’मा नेपथ्य गुञ्जिनेछ।

त्यसपछि १९ मंसिरमा वीरगन्जको आदर्शनगर रंगशालामा नेपथ्यको प्रस्तुति हुनेछ। २२ मंसिरमा हेटौंडाको भुटनदेवी स्कुल मैदानमा लोक रक गीत सुनाइनेछन्। मानव सेवा आश्रमको मुख्य कार्यालय हेटौंडामै रहेको छ।

त्यहाँबाट विस्तार भएको यो संस्थाले मुलुकभर ७७ वटै जिल्लामा हाल आफ्नो सेवा परिचालन गरिरहेको छ। ‘सांगीतिक क्षेत्रमा लागेका संस्थामध्ये नेपथ्यको सामाजिक योगदान र नैतिक बल अत्यन्त उच्च देखिएकै कारण हामी सहकार्यका लागि हौसिएका हौं,’ मानव सेवा आश्रमका संस्थापक एवं अध्यक्ष रामजी अधिकारी भन्छन्, ‘यो सहकार्यले हाम्रो अभियानमा मुलुकभर विशेषतः तन्नेरी पुस्तालाई जोड्न महत्त्वपूर्ण योगदान मिल्ने अपेक्षा गरेका छौं ।’

हेटौंडापछि २५ मंसिरमा नारायणगढको क्याम्पाचौरमा ब्यान्डको प्रस्तुति हुनेछ। मंसिरको अन्तिम शो भने नेपालगन्जमा २९ मंसिरमा आयोजना गरिनेछ।

३ पुसमा नेपथ्यले धनगढीको रंगशालामा सांगीतिक आवाज पस्किनेछ । त्यसपछि ब्यान्डले वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा ६ पुसमा कर्णाली प्रदेशका श्रोतालाई आफ्ना नयाँ तथा पुराना गीत सुनाउनेछ। 

नेपथ्यले बुटवलस्थित ‘रामनगर खेलमैदान’मा तयार पारिने मञ्चमा ९ पुसमा सांगीतिक प्रस्तुति दिनेछ । त्यसपछि नेपथ्य यात्राले उसको ‘होम ग्राउन्ड’मा प्रवेश गराउनेछ। १२ पुसमा पोखरा नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा आफूलाई उभ्याउनेछ।

यसरी मुलुकका सम्पूर्ण प्रदेश घुमिसकेपछि अन्तिममा ब्यान्ड संघीय राजधानी काठमाडौं आइपुग्नेछ। काठमाडौंमा १६ पुसमा भृकुटीमण्डपमा सांगीतिक प्रस्तुति हुनेछ।

नेपथ्यले अघिल्लो पटक पनि काठमाडौंका श्रोता दर्शकलाई सांगीतिक माहोलमा रमाउन भृकुटीमण्डपमै उभ्याएको थियो। ब्यान्डले यी प्रदर्शनमार्फत बेसहारा बनेका नेपालीको आवाज बनिदिने मात्र नभई उनीहरूको सहयोगार्थ रकम संकलनमा समेत हातेमालो गर्नेछ।

‘हामीले गीत–संगीत मात्र नभई सामाजिक दायित्वलाई समेत वहन गरिरहेका छौं,’ ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नु नपरोस् भनेर अब मानवताको सन्देश लिएर श्रोता, दर्शकमाझ पुग्न लागेका हौं।’

द्वन्द्वकालमा सांगीतिक कार्यक्रम लिएर देशव्यापी यात्रा गर्दा ठाउँ–ठाउँमा मानसिक सन्तुलन गुमाएका मानिस अलपत्र परेको दृश्यले अमृतलाई नरमाइलो लाग्थ्यो। अब भने त्यस्ता नेपालीको उद्धारमा खटिएको संस्थासँग हातेमालो गर्न पाउँदा सन्तोष लागेको उनी बताउँछन्। यो अभियानसँगै अब नेपथ्यका गीत ‘मानवताका लागि संगीत’ बन्नपुगेको अमृतको धारणा छ।

नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गर्न लागेको हो। मुलुकभरका कन्सर्ट आयोजक मानव सेवा आश्रमका स्थानीय तवरमा सक्रिय केन्द्रले सम्बन्धित स्थानमा यसलाई सघाउनेछन्।

‘हामीले सबैतिर उच्च स्तरको प्रविधिसहित खुला अकासमुनि शो आयोजना गर्न लागेका छौं,’ नेपालयका प्रमुख किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘एकातिर यसले सर्वत्र एकरूपता झल्काउनेछ भने कतिपय स्थानमा यस किसिमको पहिलो मञ्चका रूपमा पनि स्थानीय श्रोता, दर्शकले कन्सर्टको आनन्द लिन पाउनेछन्।’


प्रकाशित: Nov 01, 2022| 12:51 मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्