काठमाडौं– लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको कथा दर्शाउने चित्र पुस्तक ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ सार्वजनिक भएको छ। डा. परिधि शर्मा र डा. अर्पणा पाठकले कोरेका चित्रहरू मण्डला र मिथिला शैलीबाट प्रभावित छन्।
पुस्तकको विमोचन बागमती प्रदेशका कला, संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, कांग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल, कांग्रेस नेता सुरजचन्द्र लामिछाने, ब्लू डायमन्ड सोसाइटीकी निर्देशक पिंकी गुरुङ, मितिनी नेपालकी निर्देशक सरिता केसी, माल्भिका सुब्बा र लेक्स लिम्बूले संयुक्त रूपमा गरेका थिए।
कलाका माध्यमबाट अभिव्यक्त यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको कथाले हिंसा र यस समुदायबारे समाजमा व्याप्त रूढिवाद कम गर्न सहयोग पुग्ने अपेक्षा सुनाइन् मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीले। उनले भनिन्, ‘पुस्तक हामी लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको हक, अधिकारको आन्दोलनमा एउटा इँटा बन्न सक्छ। यसले विद्यार्थी भाइबहिनीहरूलाई हाम्रो समुदाय वा आफ्नै भावना समेत बुझ्न मद्दत गर्न सक्छ।’
कार्यक्रममा बागमती प्रदेश सरकारको कला, संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले आफ्नो मन्त्रालय मार्फत सीमान्तकृत तथा अल्पसंख्यकहरूलाई कलाको माध्यमद्वारा आफ्नो भावना र समस्या अभिव्यक्त गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए।
पुस्तकले आम मानिसलाई मानव शरीरसँगै जन्मने आत्मा र भावनालाई चिनाउने प्रयास गर्न सक्ने धारणा पिंकी गुरुङले व्यक्त गरिन्। पढेको कुरा दिमागमा बस्ने तर देखेको चित्र मनमा बस्ने बताउँदै गुरुङले भनिन्, ‘अल्पसंख्यकहरूका मुद्दा साहित्य र कलामा स्थापित हुनुपर्छ भन्ने कुरा पुस्तक मार्फत स्थापित हुँदै छ। सरकारले हाम्रा मुद्दा सम्बोधन गर्न नसकेको अवस्थामा यो पुस्तकले केही योगदान पुर्याउँछ भन्ने आशा छ।’
नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले पुस्तकमा समेटिएका चित्रले एउटा सिंगो समुदायको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे। पुस्तकको अवधारणामा शुरूआती अवस्थादेखि संलग्न माल्भिका सुब्बाले लेखकहरूले चित्र र समग्र पुस्तकमा लैंगिकक तथा यौनिक समुदायको मुद्दालाई न्यायपूर्ण सम्बोधन गरेको बताइन्। ‘हामी माध्यम हौं। हाम्रो आवाज लाखौंले सुन्ने भएकाले पनि हामी बोल्नुपर्छ,’ उनले भनिन् ।
पुस्तक निर्माणमा संलग्न लेक्स लिम्बूले समलिंगी पुरुषका रूपमा आफूले भोगेका चुनौतीहरूबारे बताउँदै भने, ‘नेपालमा मात्र होइन, विदेशमा पनि लैंगिक तथा यौनिक अल्पसङ्ख्यकहरूले समस्या भोग्नुपर्छ। यस पुस्तकले तिनै चुनौती देखाउने कोशिश गरेको छ।’
पुस्तककी लेखक तथा दन्त चिकित्सक डा. शर्माले लैंगिक तथा यौनिक अल्पसंख्यकको बारेमा बोल्दाबोल्दै भक्कानिएकी थिइन्। उनले लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले पाएको दुःख र तिनको मनोदशामाथि प्रष्ट पार्दै भनिन्, ‘लैंगिक तथा यौनिक अल्पसंख्यकले परिवार र समाजले अस्वीकार गरेका कारण उनीहरू प्रेम जोगाउन अमेरिका जानुपरेको थाहा पायौं। समाजले अस्वीकार गर्दा विवाह गर्नकै लागि विदेश जानुपर्ने? उनीहरूले अरू कति ठूला सामाजिक विभेद र समस्या झेल्नुपर्ला?’
पुस्तकको रचनागर्भबारे बोल्दै शर्माले भनिन्, ‘चित्रका लागि पात्र भेट्दा र उनीहरूको कथा सुन्दै जाँदा यथार्थ हामीले सुनेको र देखेको भन्दा बेग्लै पायौं। कतिपय पात्रका दुःख र व्यथा कल्पनै गर्न नसकिने थिए।’
‘पुस्तकका हरेक चित्र कसैको जीवनकथा सरह छ,’ डा. शर्माले भनिन्। अर्की सर्जक डा. अर्पणा पाठकले नेपालको सन्दर्भमा ‘एलजीबीटीआईक्यू’ समुदायका लागि बनाइएको यो पहिलो कलरिङ बुक भएको जनाइन्। हरेक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूका लागि गर्वका साथ विभेदबिना बाँच्न सक्षम हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्नु नै पुस्तकको उद्देश्य रहेको उनले बताइन्।