विराटनगर- मोरङको उर्लाबारीमा छुरा प्रहार गरि १४ बर्षीय बालकको हत्या गरिएको छ। आईतबार राती उर्लाबारी ७ मावा खोलानजिक छुरा प्रहार गरेर झापाको दमक नगरपालिका–१० आमबाडीका १४ वर्षीय दियुस श्रेष्ठको हत्या गरिएको हो।
छठ पर्व हेर्न मावा खोलामा आएका बेला राति १०:२५ बजेतिर दियुसमाथि छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। छुरा प्रहारबाट घाइते भएका बालकलाई अस्पताल पुर्याएपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको हो। बालकको उपचारका क्रममा सोमबार बिहान ४:५० बजेतिर मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।
छुरा प्रहारबाट दियुसको बायाँ कोखादेखि तलको भागमा चोट लागेको प्रहरीले जनाएको छ। छुरा प्रहार गर्नेहरुको पहिचान हुन बाँकी छ। घटनामा संलग्नहरु फरार रहेका कारण खोजी तीव्र पारिएको एसपी कोइरालाले बताए।