सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चाडपर्व मनाउँदा लागेको ऋण तिर्न सुन खोज्न हिँडे बोटेहरू

चाडपर्व मनाउँदा लागेको ऋण तिर्न सुन खोज्न हिँडे बोटेहरू

दसैं र तिहार मनाउँदा लागेको ऋण तिर्न नदी किनारका बालुवा चालेर सुन खोज्न उनीहरू घरबाट निस्किएका हुन्।
 |  सोमबार, कात्तिक १४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १४, २०७९

तनहुँ- तनहुँको व्यास नगरपालिका–१० स्थित कुमालटारी, माथिल्लोबाटे गाउँका बोटेहरू यति बेला नदी किनारमा सुन खोज्न नदीतर्फ लागेका छन्। 

National life

दसैं र तिहार मनाउँदा लागेको ऋण तिर्न नदी किनारका बालुवा चालेर सुन खोज्न उनीहरू घरबाट निस्किएका हुन्। दसैंतिहार मनाउँदा करिब ३० हजार रूपैयाँ ऋण लागेकाले साहुलाई तिर्न सुन खोज्न नदी किनारतर्फ हिँडेको ५७ वर्षीय मेखलाल बोटेले जानकारी दिए।

आर्थिक अवस्था कमजोर रहेका यहाँका बोटे समुदायका अधिकांशले दसैंतिहारमा मासु, नुन, तेल र छोराछोरीको लत्ता, कपडा लगायत सामान साहुसँग ऋण लिएर किन्ने गरेको उनले बताए। नदी किनारमा बालुवा चालेर फेला परेको सुन बिक्री गरेर आएको पैसाले ऋण तिरिने उनले जानकारी दिए।

'दुई ठूला चाडपर्व मान्दा लागेको ऋण बालुवामा सुन खोजेर बिक्री गरेर साहुलाई तिर्ने पुरानो चलन हो,' उनले भने।

क्रसर उद्योगहरूले किनारमा थुप्रिएका बालुवा उठाइदिँदा पछिल्लो समय सुन पाउन कठिन भएको उनले बताए। त्यसैले साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ता पनि उत्तिकै रहेको त्यस क्षेत्रका बोटेहरू बताउँछन्।

सीमान्तकृत बोटे समुदायको बालुवामा सुन खोज्ने पुर्ख्यौली पेसा भएकाले यो कामलाई निरन्तरता दिँदै आएका छन्। काम गर्न सक्नेहरू ओढ्ने, ओछ्याउने र पकाउने भाँडाकुँडाका गुन्टाहरू कसेर नदी किनारमै पाल टाँगेर बसी सुन खोज्ने काममा लाग्ने अस्मिता बोटेले जानकारी दिइन्।

काम गर्न नसक्ने बूढाबूढी र केटाकेटी घरै बस्छन्। अधिकांश बोटे घरपरिवार गर्मी समयमा खेती गर्ने र हिउँद लागेपछि नदीमा सुन खोजेर जीविकोपार्जन गर्छन्।

बोटेहरू कात्तिकदेखि वैशाखसम्म सुन खोज्न किनार धाउँछन्। तनहुँका मादी, सेतीमा सुन पाउन छाडेपछि त्यस क्षेत्रका ४० घर बोटेमध्ये अधिकांश बोटे कालीगण्डकी, बुढीगण्डकी, मर्स्याङ्दी र त्रिशूली किनारमा जाने गरेको अस्मिताले बताइन्। 

कुमालटारी क्षेत्रमा पाखे बोटे र पानी बोटे गरी करिब ९० घरपरिवार बसोबास गर्दै आएका छन्। पाखे बोटेले माछा मारेर र पानी बोटेले बालुवामा सुन खोजेर गुजारा चलाउँदै आएको सोममाया बोटेले जानकारी दिइन्। बोटेहरू माछा मार्ने जाली पनि साथ लिएर जान्छन्। किनारमै बस्ने, माछाको परिकार बनाएर खाने र सुन खोज्ने कार्यमा तल्लीन भएर लाग्ने उनले बताइन्।  -रासस

प्रकाशित: Oct 31, 2022| 07:47 सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।