काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरूद्ध आज सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।
नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा आज मुद्दा दर्ता गर्न लागिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार बिदा भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन। प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। प्रहरीका अनुसार, त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरिएको छ।