शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धरान र इटहरीको चारकोशे झाडीमा फोहोर फाल्न अझै रोकिएन

धरान र इटहरीको चारकोशे झाडीमा फोहोर फाल्न अझै रोकिएन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- लामो समयदेखि आफ्ना उपमहानगरको फोहोर चारकोशे झाडीमा फाल्दै आएका धरान र इटहरीका बासिन्दाले अझैपनि फोहोर फाल्न बन्द गरेका छैनन्।
 
प्रदेश १ का यि दुइवटै उपमहानगरको ७० टन फोहोर दैनिक चारकोशे झाडीमा फालिन्छ। इटहरीमा दैनिक ३३ टन र धरानमा दैनिक ३७ टन फोहोर उठ्छ। यसरी फालिएको फोहोर बगेर रामधुनी नगरपालीकाको बक्लौरी क्षेत्रमा पुग्छ। र, गाँउलेहरुको फोहोरले स्थानीयको खेत भरिन्छ। रोगव्याधि बढ्छ।  तरपनि, यो क्रम रोकिएको छैन।
 
विभिन्न ऐन विपरीत वनमा फोहोर फालिँदै

चारकोशे झाडीमा फालिएको फोहोर विभिन्न ऐनहरू विपरीत भएको देखिएको छ। वातावरण संरक्षण ऐन २०५३, वन ऐन २०४९ र फोहोरमैला व्यवस्थापन नियमावली २०७० आदि ऐनहरूको धज्जी उडाएर चारकोशे झाडीमा फोहोर विसर्जन गरिएको पाइएको छ। 



वातावरण संरक्षण ऐन २०५३ को दफा ७ को उपदफा १ ले वनमा फोहोर फाल्न निषेध गरेको छ। जसमा प्रस्ट लेखिएको छ, ‘कसैले पनि वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने गरी वा जनजीवन र जन स्वास्थ्यको लागि खतरा हुन सक्ने किसिमले प्रदूषण सृजना गर्न वा तोकिएमा मापडण्ड विपरीत कुनै यान्त्रिक साधन, औद्योगिक प्रतिष्ठान वा अन्य ठाउँबाट ध्वनि, ताप, रेडियोधर्मी विकिरण तथा फोहोरमैला निष्कासन गर्न, गराउन हुँदैन।’
 
वन ऐन २०४९ ले त सामुदायिक वनलाई डम्पिङ साइट बन्न निषेध गरेको छ। वन ऐनको दफा ४९ ले वनमा आगो लाउन निषेध गरेको छ। यदि सामुदायिक वनमा कार्ययोजना विपरीत काम गरेको अवस्थामा सामुदायिक वन फिर्ता हुने सम्मको प्रावधान पनि ऐनमा उल्लेख गरिएको छ। 

वन ऐनको दफा २९ मा प्रस्ट लेखिएको छ, ‘कार्य योजना विपरीत काम गर्नेलाई हुने सजाय सामुदायिक वनमा कुनै उपभोक्ताले कार्य योजना विपरीत कुनै काम गरेमा निजलाई सम्बन्धित उपभोक्ता समूहले उपयुक्त सजाय गर्न सक्नेछ र कुनै हानी नोक्सानी भएकोमा बिगो समेत असुल उपर गर्न सक्नेछ।’


 
फोहोरमैला व्यवस्थापन नियमावली २०७० ले पनि फोहोरमैला व्यवस्थापनमा धेरै कुरामा नियम बनाएको छ। जसअनुसार: 

- नियमावलीको नियम ४ को उपनियम ३ मा लेखिएको छ, ‘स्थानीय निकायले फोहरमैला निष्कासन तथा सोको व्यवस्थापनका लागि समय, स्थान र तरिका निर्धारण गर्दा जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभाव र त्यसको न्यूनीकरणका उपायहरू समेतलाई ध्यान दिनु पर्नेछ ।’


- नियम ५ को उपनियम ८ मा लेखिएको छ, ‘हानिकारक, रासायनिक, जैविक वा अजैविक फोहरमैला प्रशोधन गर्दा त्यस्तो फोहरमा रहेका हानिकारक तत्व नष्ट हुने गरी गर्नु पर्नेछ र सामान्य फोहरमैला सरह भएपछि मात्र त्यसको अन्तिम निष्कासन तथा विसर्जनको व्यवस्था गर्नु पर्नेछ।’

- नियम ७ मा फोहोर मैला ढुवानीका सवालमा पनि प्रस्ट केही नियमहरू लेखिएका छन् जस्तै फोहर नदेखिने, नझर्ने तथा झोल पदार्थ नचुहिने, फोहरमैलाबाट गन्ध र लिचेट बाहिर ननिस्कने, फोहरमैला सजिलैसँग राख्न र निकाल्न सकिने, सडकको क्षमता तथा अवस्थाको अनुकूल हुने हुनुपर्छ। 

तर, यी कुनै पनि नियमहरू चारकोशे झाडीमा फोहोर विसर्जन गर्दा लागु गरिएको छैन। फोहोरमैला व्यवस्थापनका ऐन तथा नियमावलीहरू उल्लङ्घन गरेको अवस्थामा १५ दिन देखी ३ महिना जेल सजाय अथवा १ लाख जरिवाना सम्मको सजाय हुन सक्ने फोहोरमैला व्यवस्थापन विज्ञ डाक्टर सुमित्रा अमात्य बताइन्।

अस्पतालको फोहोर पनि विना ‘ट्रिटमेन्ट’ वनमा फालिदै

कुहिने र नकुहिले फोहो बेग्लाबेग्लै भेला पार्नुपर्ने, फोहोर ढुवानी गर्दा राम्रोसँग छोपेर लानुपर्ने र अस्पतालजन्य फोहोर ट्रिटमेन्ट पछि मात्रै लानुपर्ने जस्ता कुनै नियमहरु यि दुवै उपमहानगरले पालना गरेका छैनन। 

औषधि व्यवसायी संघका सदस्यहरूको संख्याको आधारमा धरान र इटहरीमा ३ सय हाराहारी  क्लिनिक तथा औषधि पसलहरूको फोहोर कुनै ट्रिटमेन्ट विना जंगलमा फालिन्छ। 


धरानको विपरीत कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहेक धरानमा अन्य अस्पतालका मेडिकल फोहोर ट्रिटमेन्ट प्लान्टहरु छैनन्। जसको असर सिधै चारकोशे झाडिमा पर्छ। जिल्ला वन कार्यालय सुनसरीका अनुसार इटहरी र धरानको बीचमा पर्ने चारकोशे झाडीको क्षेत्रफल १२ हजार ३ सय ८० हेक्टर छ। जसमा केही राष्ट्रिय वन क्षेत्र पर्छ भने २३ सामुदायिक वनहरू छन्। 

सुनसरीका सहायक जिल्ला वन अधिकृत मुनराज राईका अनुसार ती सामुदायिक वन ४१५० हेक्टरमा फैलिएका छन्। चारकोशे वन क्षेत्रको जैविक विविधतामा फोहर फालेर यी उपमहानगरहरुले चुनौति दिइरहेका छन्। नेपालको जैविक विविधता रणनीतिमा उल्लेख भए अनुसार समुद्र सतहदेखि १ हजार मिटर उचाइमा २३ वटा पारिस्थितिकीय प्रणालीहरु विद्यमान छन्। 

त्यहाँ फूल फुल्ने १८८५ र नफुल्ने १४२ प्रजातिका वनस्पतिहरु छन् । त्यसैगरी यो क्षेत्रमा  ३२५प्रजातिकापुतली,१५४ प्रजातिका माछा, ६४८ प्रकारका चराहरुका साथै ६८ प्रजातिका सरीसृप पाइन्छन् । नगरको फोहर आतंकबाट यी बहुमूल्य प्राकृतिक सम्पदाहरु कसरी बच्लान् भन्ने चिन्ताको विषय बनेको सरोकारवालाहरु बताउँछन । 

वन कार्यालयदेखि प्रदेश मन्त्रीको निर्देशन पनि अस्वीकार

प्रदेश १ का दुइ उपमहानगर धरान र इटहरीले जंगलमा फोहोर नफाल्न प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियैत देखी जिल्ला वन कार्यालय कसैको आग्रह टेरेका छैनन्।


 
जिल्ला वन कार्यालय सुनसरीका प्रमुख राजेन्द्र निरौलाले आफूहरुले पटकपटक पत्र काटेर अनि सार्वजनिक मन्चमा आग्रह गरिएपनि चारकोशे झाडिमा फोहोर फाल्न नरोकिएको बताउँछन। भन्छन, ‘आफैले हामीलाइ वन जोगाउन प्रोत्साहन गर्नुपर्ने स्थानिय सरकार आफै वन मास्नमा सक्रिय छन ।’ यहि गतिमा चारकोशे झाडिमा फोहोर फाले वन भन्दा फोहोरका क्षेत्रफल धेरै हुने निरौलाको चिन्ता छ। 

अझै धरानले ३ महिना र इटहरीले १२ महिना जंगलमै फोहोर फाल्ने

धरानकि कार्यवाहक मेयर मन्जु भण्डारी धरानको पानवारि क्षेत्रमा फोहोबाट ऊर्जा निकाल्ने वेस्टु इनन्र्जी परियोजना सञ्चालन भएपछि वन क्षेत्रमा फोहोर नहालिने बताउँछिन। उनी भन्छिन, ‘हामीले जंगलमा फोहोर फालेपनि खाल्डो खनेर व्यवस्थित गर्ने प्रयास गर्दै छौँ। अब जनवरीबाट भने व्यवस्थित फोहोर प्रशोधन हुन्छ।’

फोहोर उठाँउदा सहरमा समस्या नहोस भनेर राती नै उठाउने र जंगलमा फालिएको फोहोरले समस्या नगरोस भनेर खाल्डो खनेर घेराबारा गरेर व्यवस्थित गरिएको भण्डारीले बताइन्।

 इटहरीका मेयर द्धारिकालाल चौधरीले पनि इटहरीमा १३ करोड बढीको ल्याण्डफिल्ड बन्दै गरेकाले निर्माणपछि वन क्षेत्रमा फोहोर फाल्ने बाध्यता हट्ने तर्क गर्छन् । अबको एक बर्षभित्र फोहोर प्रशोधनको काम सरु हुने भन्दै मेयर चौधरीले भने, ‘अझै १ बर्ष जंगलमा फोहोर फाल्नैपर्ने बाध्यता छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।