काठमाडौं- भारतीय पक्षले सडक निर्माणका क्रममा भएको विस्फोटमा दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ।
परराष्ट्र मन्त्रालयले आइतबार भारतीय दूतावासमार्फत कूटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
परराष्ट्र मन्त्रालयले पठाएको विज्ञप्तिमा भारत सरकारलाई मुख्यगरी तीन विषय उठाएको छ। जसमा पहिलो, भारततर्फ पूर्वाधार निर्माणका काम अघि बढाउँदा नेपालका सीमावर्ती स्थानीय निकायसँग प्रभावकारी रुपमा समन्वय गर्न, दोश्रो, त्यस्ता कार्य गर्दा विशेष सावधानी अपनाउन र तेश्रो मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत दिने विषय उठाइएको छ।
यसअघि गृह मन्त्रालयले घटनाबारे तयार पारेको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएपछि परराष्ट्रले आइतबार कूटनीतिक नोट पठाएको हो।
‘बाहिर सञ्चारमाध्यममा आएजस्तो परराष्ट्रले उक्त घटनाप्रति चासो नदिएको भन्ने कुरा सत्य होइन। गृह मन्त्रालयले पठाएको स्थलगत प्रतिवेदन आज बिहान मात्रै पाएका हौँ। हामीले गृहको प्रतिवेदन नआउँदै भारतलाई पत्र लेख्नु उपयुक्त ठानेनौँ,’ मन्त्रालयका एक अधिकारीले भने।
यस घटनाको विषयमा नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतको विदेश मन्त्रालयलाई ध्यानाकर्षण गराउने भएको छ। सडक निर्माणको काम गरिरहेको उक्त कम्पनीले उक्त घटनामा गल्ती स्वीकार गरिसकेको छ।
पीडित परिवारसँगको छलफलका क्रममा शनिबार भारतीय पक्षले गल्ती स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताएका थिए। उनले भने, ‘अहिले हामी छलफलमै छौँ, भारतीय कम्पनीले गल्ती स्वीकार गरेको छ। अरु बालबच्चालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने भनेका छन्, पीडित परिवारले भने उचित क्षतिपूर्ति माग गरेका छन्।’
विस्फोट गराउने निजी कम्पनी भएकाले आफूहरुलाई रोजगारीभन्दा पनि उचित क्षतिपूर्ति दिइनुपर्ने पीडित परिवारको माग रहेको उनले बताए।
महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रबार विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय पवन महराको मृत्यु भएको हो।
अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बिनासूचना विस्फोट गराउँदा दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत पवनको मृत्यु भएको हो। ढुंगा लागेर हिक्मतकी १४ वर्षीया छोरी सरिना घाइते भएकी छन्। खुट्टामा चोट लागेकी उनको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ। व्यास–२ का वडाध्यक्ष धिरेनसिंह बुढाथोकीले बिहान साढे ९ बजेतिर तम्बाकुनजिक थीबाट फर्कने क्रममा पारिबाट आएको ढुंगा लागेर पवनको ज्यान गएको बताए।
उनका अनुसार भारतीय पक्षले जानकारी नदिई विस्फोट गराएकाले उक्त घटना भएको हो। टाउकोमा गम्भीर चोट लागेका पवनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले बताए। उनको शव पोस्टमार्टमका लागि शुक्रबार साँझै जिल्ला अस्पताल खलंगा पुर्याइएको छ।
अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एकअर्कालाई असर पुर्याउने काम गर्न पाउँदैनन्। विस्फोट गराउनैपर्ने भए विस्फोट अवधिभर प्रभावित क्षेत्रमा मानिसलाई आवतजावतमा रोक लगाउनुपर्छ। त्यसका लागि एकअर्का देशका प्रशासनबीच समन्वय हुनुपर्छ तर शुक्रबार भारतीय पक्षले विस्फोट गराउनुअघि त्यस क्षेत्रका बासिन्दालाई सूचना नै दिएन। दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीर्घराज उपाध्यायले विस्फोटअघि भारतीय पक्षले सूचना प्रवाह नगरेकै कारण बाटोमा हिँडिरहेका बालकले ज्यान गुमाउनुपरेको बताए।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले भारतीय सडक खन्दा उछिट्टिएर आएको ढुंगा लागी ज्यान गुमाएका पवन महराको मृत्युको कारण छानबिन र राहतका लागि पहल सुरु गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका थिए। मन्त्री बडू पनि दार्चुलाकै स्थानीय हुन्। उनले गृह र परराष्ट्र मन्त्रालयलाई समेत यस विषयलाई गम्भीरताका साथ लिई राहत र क्षतिपूर्तिका लागि पहल गर्न ध्यानाकर्षण गराइसकेको बताए।
शनिबार पीडित परिवारसँगको छलफलका क्रममा भारतीय पक्षले गल्ती स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले नेपालखबरलाई बताएका थिए।