काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ८ वटा दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी सकिएको निर्वाचन आयोगले बताएको छ। आयोगले मतपेटिका, मतपत्र, छेकाबार, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्री ढुवानी गरिरहेको हो।
निर्वाचनका लागि ५७ प्रकारका सबै सामग्री आयोगबाट नियमित ढुवानी भइरहेको छ। यस क्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालीकोट, डोल्पा र सुदूरपश्चिम प्रदेशको बाजुरामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
यीबाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन केही सामग्री पठाइसकिएको आयोगले जनाएको छ। यद्यपि ती जिलामा सबै सामग्री ढुवानी हुन बाँकी छ।