सोमबार, वैशाख २८, २०८३

बन्द हुने अवस्थामा कंक्रिट मिक्सर मेसिन उद्योग

गुणस्तरीय मेसिन उत्पादन गरे पनि विदेशबाट आयात हुने सस्तो मेसिन र सरकारले तयारी सामानभन्दा कच्चा पदार्थमै बढी भन्सार दर लगाएपछि त्यसको मारमा परेर उद्योग बन्द गर्नुपरेको उनले बताए।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

चितवन- चितवनको भरतपुर महानगरपालिका-१६ मा स्थित गौरव नेपाल इञ्जीनियरिङ प्रालि बन्द हुने अवस्थामा पुगेको छ। 

National life

वि सं २०५४ देखि सो उद्योगले कंक्रिट मिक्सर मेसिन उत्पादन गर्दै आइरहेको छ। घर ढलानदेखि पुल, ढललगायत विकास निर्माणका लागि चाहिने कंक्रिट मिक्सर मेसिन यही उद्योगले व्यावसायिक उत्पादन गर्छ। एक समय वार्षिक एक हजार हाराहारीमा उक्त मेसिन उत्पादन गर्दै आइरहेको कम्पनीले गत वर्ष मुस्किलले एक सयवटा मेसिन निर्माण गरेर बिक्री गरेको थियो। यस वर्षदेखि भने उद्योग चल्ने अवस्थामा नरहेको कम्पनीका सञ्चालक ताराप्रसाद पौडेलले जानकारी दिए। 

गुणस्तरीय मेसिन उत्पादन गरे पनि विदेशबाट आयात हुने सस्तो मेसिन र सरकारले तयारी सामानभन्दा कच्चा पदार्थमै बढी भन्सार दर लगाएपछि त्यसको मारमा परेर उद्योग बन्द गर्नुपरेको उनले बताए।

'सरकारले हामीलाई सहज वातावरण बनाइदिए यस्ता उद्योग अझै खुल्थे, अब त हामी नै बन्द गर्नुपर्ने अवस्थामा आइपुगेका छौँ', उनले भने। उनको उद्योगले नयाँ मेसिनका लागि चाहिने पार्टस् उत्पादन बन्द गरिसकेको छ। बनेर बसेको १५-२० वटा मेसिन बिक्री भएपछि नयाँ उत्पादन नगर्ने निर्णयमा पुगेको सञ्चालक पौडेलले बताए। 

चितवन, रुपन्देहीलगायतका जिल्लामा १५ वटा यस्ता उद्योग सञ्चालनमा थिए। अहिले घटेर दुईवटा उद्योगमा खुम्चिएको छ। चितवन र रुपन्देहीमा एक-एक उद्योग सञ्चालनमा छन्। रुपन्देहीमा रहेको नेशनल इञ्जीनियरिङ मेटल प्रालि एक समय सर्वाधिक वार्षिक एक हजार पाँच सयसम्म मेसिन उत्पादन गर्दथ्यो। अहिले घटेर एक सय मात्रै मेसिन उत्पादन गर्ने गरेको छ। 

सरकारले यस उद्योग सञ्चालनका लागि चाहिने कच्चा पदार्थ आयातमा १० देखि १५ प्रतिशतसम्म भन्सार दर कायम गरेको छ भने १३ प्रतिशत भ्याट र प्रतिकेजी रु पाँचका दरले अन्तःशुल्कसमेत थप गरेको छ। तर यही सिङ्गो तयारी मेसिन आयात गर्दा भन्सार महसुल मात्र चार प्रतिशत र भ्याट नलाग्ने व्यस्था छ। यस नीतिलाई सच्याउन उद्योगीले सरकारसँग पटक-पटक माग गरिरहेका छन्। तर माग सुनुवाइ नहुँदा छिट्टै उद्योग बन्द हुने अवस्थामा पुगेको उद्योगीको भनाइ छ। 

नेशनल इञ्जीनियरिङ मेटलका सञ्चालक रामप्रसाद खनालले सरकारले उद्योगीको संरक्षण गर्नुको साटो विस्थापित गर्ने अभियानमा लागेको बताए। 'हामीले अहिले मात्र होइन, पटक-पटक कच्चा पदार्थको भन्सार दरबारे माग राखेका थियौँ, तर अहिलेसम्म सम्बोधन नहुँदा हामी पलायन हुने अवस्थामा पुगेका छौँ', उनले भने।

उद्योगीका साझा संस्था नेपाल उद्योग परिसङ्घलगायतका सङ्घसंस्थाले कच्चा पदार्थ आयातको भन्सार दर घटाउन माग गर्दै आइरहेका छन्। तर ती कुराको सुनुवाइ नहुँदा झन् समस्या बल्झिन थालेको चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले बताए। 'सरकार उद्योग व्यवसाय फस्टाउनमा जोड दिनुपर्ने हो तर विडम्बना उल्टै उद्योगधन्दा मास्ने खालका नीति निर्माण गर्दा समस्या देखिन थालेका छन्' उनले भने।

पछिल्लो समय अन्य उद्योगधन्दा पनि खुल्ने क्रम जारी छ। तर सबैको डर कतै पछि बन्द गर्नुपर्ने अवस्था त आउने होइन भन्नेमा देखिन्छ। चितवन उद्योग सङ्घका उपाध्यक्ष युगराज वस्तीले युवा उद्यमी व्यवसायीलाई सरकारले प्रवद्र्धन गर्नुको साटो उल्टै पलायन हुने बाटो देखाउन थालेको आरोप लगाए। उनले कंक्रिट मिक्सर मेसिन निर्माण गर्ने उद्योग बन्द हुँदै गर्दा युवा रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था सिर्जना हुने बताए। उनले यसतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए।

नेपालका कंक्रिट मिक्सर मेसिन उद्योगमा सुरुआती समयमा चार सय ५० भन्दा बढीले रोजगारी पाएका थिए। उद्योग बन्द हुँदै जाँदा अहिले घटेर एक सयमा झरेको छ। नेपालमा उद्योग बन्द हुँदै जाँदा बर्सेनि ११ हजार बढी कंक्रिट मिक्सर मेसिन विदेशबाट आयात हुँदै आइरहेको छ। यसबाट ७६ करोडभन्दा बढी रकम विदेशिने गरेको छ। -रासस

प्रकाशित: Oct 30, 2022| 12:33 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।