काठमाडौं- १९ असोजदेखि जुम्लामा विच्छेद भएको राष्ट्रिय प्रसारण लाइनको विद्युत् शनिबारदेखि पुनः सञ्चालन भएको छ।
बाढीपहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएसँगै विद्युत् सेवा अवरुद्ध भएको थियो। कर्णाली राजमार्गको दैलेख, कालीकोट हुँदै जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ।
सो क्षेत्रमा बाढीपहिरोले जुम्ला र कालीकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति हुन सकेको थिएन।
नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार क्षति भएको स्थानमा मर्मत सकिएपछि जुम्लामा विद्युत् सेवा नियमित भएको छ।
आधा महिना बढी समय विद्युत् अवरुद्ध हुँदा जुम्ला अध्याँरो भएको थियो। बिजुली आपूर्ति भएपछि सरकारी काममा पनि सजिलो हुने वितरण केन्द्रले जनाएको छ।