काठमाडौं- गएको असोज ३ गते राष्ट्रपतिबाट आममाफी पाएका हत्या आरोपीले छुटेको एक महिनामै अर्को हत्या गरेका छन्। चितवनको माडी ४ मा शुक्रबार राति ३४ वर्षीय जीवन नेपालीको हत्या गरेको आरोपमा नवलपुर घर भएका सुरेश कुमाल पक्राउ परेका हुन्।
उनलाई शनिबार बिहान चितवनको माडीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए। अधिकारीकाअनुसार कुमालले आरोप स्वीकार गरिसकेका छन्।
प्रारम्भिक अनुसन्धानबाट जीवन र सुरेशले सँगै बसेर मदिरा सेवन गरेको र राति सामान्य भनाभन भएपछि घटना घटेको जानकारी एसपी अधिकारीले दिए। ‘जीवनको टाउकोमा चोट देखिएको छ, घाँटी सेरिएको छ,’ उनले भने।
२०६९ कात्तिकमा आफ्नै हजुरआमा र काकीको हत्या गरेर कुमाल जेल परेका थिए। हत्या आरोपमा दोषी ठहर भएपछि नवलपुर जिल्ला अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
कारागार कार्यालय मकवानपुरमा उनले कैद भुक्तान गरेका थिए। सुरेश जबरजस्ती करणीमा कारागारमा थिए। जेलमै रहँदा दुई जनाबीच चिनजान भएका थियो। जीवन केही समयअघि नै छुटिसकेकाले कैदमुक्त भएपछि सुरेश पनि उनलाई खोज्दै चितवन पुगेका थिए। जीवनले सुरेशलाई आफ्नै दाइको फर्निचरमा काम लगाइदिएका थिए।
‘प्रारम्भिक अनुसन्धानमा जेलमुक्त भएपछि दुवै जनाबीच राम्रो सम्बन्ध रहेको देखिएको छ,’ एसपी अधिकारीले भने, ‘मदिरा सेवनपछि सामान्य भनाभनपछि हत्या भएको देखियो।’ एसपी अधिकारीकाअनुसार जीवनको हत्यापछि सुरेश छिमेकीको घरमा छिरेका थिए। हत्यापछि सुरेश छिमेकी रुपा नेपालीको घरमा पुगेर जाइलागेका थिए। रुपाको घाँटी थिचेर कान च्यातेर गहना चोरेर उनी भागेका थिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।