धनगढी- कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्त हत्याबारे अनुसन्धानका लागि गठित उच्चस्तरिय अध्ययन समितिको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै समितिका एक जना सदस्यले आज (सोमबार) राजीनामा दिएका छन्।
समितिका सदस्य प्रदेश ७ को कानुन मान्त्रालयका उपसचिव विरेन्द्र केसीले समितिको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै आज सदस्यबाट राजीनामा दिएका हुन्। केसीको राजीनामाले निर्मला हत्या प्रकरण थप रहस्यमय बन्दै विश्लेषण हुन थालेको छ। समितिले गरेको छानविनले निर्मलाले न्याय पाउनेमा शंका लागेको भन्दै निर्मलाको न्यायका लागि आफूले राजीनामा दिएको केसीले जानकारी दिए।
भदौं ७ गते गठित समितिले तोकिएको १५ दिनभित्र प्रतिवेदन नबुझाएपछि सरकारले आइतवार समितिको म्याद १५ दिन थपेको थियो। ‘समितिको म्याद थप गर्दा कानूनी समस्या आउने भएकाले मैले राजीनामा दिएको हुँ,’उपसचिव तथा समितिका सदस्य केसीले भने, ‘अपराधीलाई कठघरामा उभ्याउनुपर्छ र पीडित परिवारले न्याय पाउनुपर्यो भन्ने मेरो मान्यता हो।’
समितिको म्याद बढाएर ३० दिन पुर्याउँदा कानूनी अड्चन आउने उनको दाबी छ। ‘१५ दिनभित्र प्रतिवेदन नदिँदा कानूनी समस्या आउँछ, अभियुक्तलाई नै २५ दिनभन्दा बढी हिरासतमा राख्न पाइँदैन। ३० दिनमा गयो भने के हुन्छ?’ उनले भने, ‘म्याद थपिनु हुन्थेन, प्रतिवेदन तत्कालै दिनुपर्छ भन्ने मेरो धारणा छ ।’ काठमाण्डौंमा रहेका केसीले आफूले सदस्य पदबाट राजीनामा दिएको नेपाल समयलाई फोनमार्फत जानकारी दिए।
उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘घट्नाको छानबिनको क्रममा सत्य, तथ्य प्राप्त गर्ने र मुख्य अपराधी पत्ता लगाउन लागीपर्ने अठोटसँगै आफू क्रियाशील रहँदा मेरो ज्यान जोखिममा रहेको र शक्तिशाली अपराधीबाट मलाई जुनसुकै समयमा पनि हत्या गर्न सक्ने प्रबल सम्भावना भयो।'
केसीले नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, युनाईडेट नेशन ह्युम्यान राईट्स अफिस अफ द हाई कमिशन, मानव अधिकार सम्र्वद्धन तथा प्रर्वद्धन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था, सञ्चार जगत नागरिक समाज र राजनीतिक दल लगायतलाई मेरो जीवन रक्षाको लागि सहयोग गरिदिन हार्दिक आग्रह गरेका छन्।
छानबीन समितिका सदस्यले नै राजीनामा दिएपछि घटना झन् रहस्यमय बनेको टिप्पणी हुन थालेको छ। यसअघि, जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले झूटा घटनाक्रम बताएपछि कञ्चनपुरमा आक्रोश बढेको छ।
गृहमन्त्रालयका सह-सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित पाँच सदस्यीय उच्चस्तरीय छानविन समितिमा केसी सदस्य थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४