शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सांसद थापाले बैठकमा ‘अपोजिसन’ भनेपछि हच्किए प्रधानन्यायाधीश 

सांसद थापाले बैठकमा ‘अपोजिसन’ भनेपछि हच्किए प्रधानन्यायाधीश 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संसदीय सुनुवाई विशेष समिति समक्ष प्रधानन्याधीश पदको लागि सुनुवाईमा बसेका सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र समितिका एक सदस्यको जिज्ञासा सुनेर अलमलमा परेका छन्।

सुनुवाईको क्रममा समिति सदस्यसमेत रहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद अमृता थापा मगरले समितिको सोमबारको बैठकमा कामु प्रधानन्यायाधिश मिश्रलाई प्रश्न गर्ने क्रममा बारम्बार 'अपोजिसन' को बारेमा स्पस्ट पारिदिन भनेपछि उनी हच्किएका थिए।

सुनुवाईमा उपस्थित कामु प्रधानन्यायाधिश मिश्रलाई प्रश्न सोध्दा उनको अभिव्यक्ति शब्दलाई अंग्रेजीमा ‘ओपेनियन’ भनेर प्रयोग गर्दा सबै अलमलमा परेका थिए। ‘तपाईंले समिति समक्ष पेश गरेको अपोजिसन राम्रो छ, तर कार्यान्वयन गर्ने बलियो र विश्वासिलो आधार के छ?’, सांसद थापाले सोधिन, ‘तपाईंको अपोजिसनमा अदालतसम्म जनताको पहुँच सहज बनाउने कुरा आएको भए सुनमा सुगन्ध हुन्थ्यो।’

सांसद थापाले ‘अदालतलाई घिसेपिटे तरिकाले अगाडि बढाउन नसकिने भन्दै अग्रगामी बनाउन तपाईँको अपोजिसन के छ भनेपछि’ अलमलिएका प्रस्तावित प्रधानन्यायाधिशमा मिश्रले 'अपोजिसन' भनेर सांसदले प्रयोग गरेको शब्द 'ओपेनियन' भनेर बुझेका थिए। सांसद थापाले समिति बैठकमा मिश्रलाई प्रश्न गर्दा दर्जनौं पटक 'अपोजिसन' भन्ने शब्द प्रयोग हुँदा सन्नाटा छाएको थियो।

सांसद थापाले प्रयोग गरेको शब्द सुनेर संसद सचिवालय र सर्वोच्चका कर्मचारीमध्ये कतिले जिब्रो टोकेका थिए भने कतिपयले लाजले मुन्टो निहुर्‍याएका थिए। समितिकै सदस्य संघीय समाजवादी फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ भने सांसद मगरको 'अपोजिसन' भन्ने शब्द पहिलो र दोश्रो पटक प्रयोग गर्दा दाँत देखाएरै हाँसेका थिए।

आफूले प्रयोग गर्ने शब्द सुधार नगरेपछि श्रेष्ठले घुम्ने कुर्सी फर्काउँदै पूर्वीदिशा तिर फर्किए। 'अपोजिसन' शब्द प्रयोग भएपछि पत्रकार दिर्घामा कतै कानेखुसी त कतै हाँसो देखिन्थ्यो। 

करिव ६ देखि ७ मिनेटसम्म मिश्रलाई प्रश्न गरेकी थापाले हरेक पटक प्रश्‍न गर्दा 'अपोजिसन' राम्रो भएको तर अपुग भएको र 'अपोजिसन' लाई कार्यान्वनय गर्न के-के गर्नुहन्छ भनी प्रश्न गरेकी थिइन। 
  
सांसदहरुको जिज्ञासाको जवाफ दिने क्रममा मिश्रले सांसद थापाको कुनै पनि प्रश्नको जवाफ दिएनन। सम्भवत उनको प्रश्नको भाव र अर्थ नबुझेर पनि यस्तो हुन सक्ने सर्वोच्चका एक कर्मचारीले बताए।

अनुमोदन हुनुअघि नै मिश्रलाई समिति सदस्यको बधाई 

सोमबार कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाई विशेष समितिमा सुनुवाई चलिरहेको थियो। सुनुवाईको क्रममा उपस्थित भएका समिति सदस्यमध्ये केहीले प्रश्न र जिज्ञासा राखेका थिए। तर समितिमा उपस्थित मिश्रलाई समिति सदस्य धेरै जसोले प्रश्न गर्नुको सट्टामा प्रशंसा गर्दै बधाई दिए।

संविधान अनुसार संसदीय सुनुवाई समितिलाई सर्वोच्च अदालतका न्यायाधीश, नेपाली राजदूत र संवैधानिक परिषद्का अध्यक्ष र सदस्य तथा आयुक्तहरुको कार्ययोजना, योग्यता क्षमता, आचरण तथा छवी हेरेर स्वीकृत वा अस्वीकृत गर्ने अधिकार छ। यसरी त्यस्तो संवेदनशील जिम्मेवारीमा पुग्ने व्यक्तिको छानबिन गर्ने समेत अधिकार पाएको निकायका सदस्यको आचरण र व्यवहार भने विल्कुल फरक देखिन्थ्यो।

समिति सदस्यहरु सुरेन्द्रप्रसाद पाण्डे, योगेश भट्टराई, अमृता थापा मगर, पूर्णकुमारी सुवेदी, शिवकुमार मण्डल, जितेन्द्रकुमार देव, निरु पाल, पार्वती गुरुङले अदालतमा विकृति विसंगति बढेको तर नियन्त्रण हुन नसकेको गुनासो गरे पनि प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश मिश्रको मुक्तकण्ठले प्रशंसा गर्दै बधाई दिएका थिए। 

अर्धन्यायिक निकायको उच्च भूमिकामा रहेका सांसदले नै चौतर्फी प्रशंसा गरेको सुनेर प्रस्तावित न्यायाधिश मिश्र भेन मक्ख परेका थिए। मिश्रले पेश गरेको २५ पेजको १० बुँदे कार्ययोजना नै उत्तम रहेको भन्दै नेकपाका नेतासमेत रहेका योगेस भट्टराई र नेपाली कांग्रेसका जितेन्द्र नारायण देवले प्रशंशा गरेका थिए। 

समिति सदस्य तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीको सर्वोच्च अदालतमा अनुशासनहिनता र एकता नभएको भन्ने आरोपको मिश्रले प्रस्टीकरण दिएका थिए। मिश्रले कार्कीको आरोप अश्वीकार गर्दै विगतमा त्यस्तो भए पनि हाल नरहेको दाबी गरे।

समितिमा उपस्थित सदस्यहरुले सुनुवाईमा रहेका मिश्रलाई औपचारिक बैठकबाटै बधाई दिन थालेपछि मिश्रले पनि सकारात्मक रुपमा प्रस्तुत भई सांसदहरुलाई माननिय वा सांसदज्यूहरु भनेर सम्बोधन नगरी साथिहरु भन्दै बारम्बार शब्द प्रयोग गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।