काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले न्यायालयको भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन्।
संसदीय सुनुवाइ विशेष समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै मिश्रले न्यायालयमा कुनै पनि प्रकारको भ्रष्टाचारजन्य कृयाकलाप हुन नदिने प्रतिवद्धता जनाएका हुन् । सोमबार भएको सुनवाईमा उनले आफू प्रधानन्यायाधीश भएको खण्डमा गर्ने कामहरुको फिहरिस्तसमेत सार्वजनिक गरेका छन् । आफ्नो कार्ययोजना सुनाउँदै मिश्रले अदालतका सबै काम कारवाहीको अनुगमन गर्ने र भ्रष्टाचारविरुद्ध अग्रसरता लिने बताए।
सांसद्हरुले अदालतका काम कारबाहीलाई चुस्त बनाउने योजना माग गरेका थिए भने उनीमाथि लागेको आरोपका विषयमा समेत प्रश्न उठाएका थिए ।
उनीविरुद्ध सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा नातेदारको पक्षमा फैसला गरेको, अर्को फौजदारी मुद्दामा चारजनालाई सफाइ दिएको, प्रश्नपत्र बिक्रीको आरोप लागेका व्यक्तिकै पक्षमा फैसला गरेको आरोप छ । संसदीय सुनुवाइ समितिमा मिश्रले यी विषयमा आफूले फैसला गर्दा कुनै लाभको उद्देश्यले काम नगरेको स्पष्टिकरण दिएका छन् ।
समितिले सुनुवाइपछि अनुमोदन सम्बन्धी निर्णय गर्नेछ । समितिमा दुईतिहाइले प्रस्तावित व्यक्तिलाई स्विकृत वा अस्वीकृतको निर्णय गर्नेछ । समितिले उनको नाम अनुमोदन गरेमा राष्ट्रपतिले स्विकृत गरेपछि उनले औपचारिक रुपमा प्रधानन्यायाधीको जिम्मेवारी सम्हाल्न पाउने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४