ढोरपाटन- पातीहाल्ने र रिगताल क्षेत्र बागलुङ, रोल्पा र पूर्वी रुकुमको सीमाना हो। मध्यपहाडी लोकमार्गमा पर्ने यो क्षेत्रमा आन्तरिक पर्यटक चहलपहल बढेको छ। स्थानीय सरकार आएपछि बाग्लुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको भूमे गाउँपालिकाले पर्यटकीय क्षेत्रलाई आआफ्नो कब्जामा पार्ने प्रयास थालेपछि विवाद उत्पन्न भएको छ। पाँच वर्ष अगाडि भूमे गाउँपालिकाले आफ्नो जिल्लामा आएर प्रवेशद्वार निर्माण गरेकाले विवाद भएको बाग्लुङको आरोप छ। उक्त विवाद अझै सुल्झिएको छैन।
सरोकारवालाले विवाद मिलाउन कोसिस गरे पनि अहिलेसम्म कुनै पनि निचोड निक्लिएको छैन। पातीहाल्ने दुई जिल्ला मात्रै नभएर गण्डकी र लुम्बिनी प्रदेशकै सीमा क्षेत्र पनि हो। दुवै जिल्लाका सरोकारवालाबीच पटकपटक सहमति जुटाउने प्रयास विगतमा भए तर त्यसले कुनै सहमति नजुटेपछि विवाद कायमै रहेको हो। दुई वर्ष अगाडि सीमा विवाद टुङ्ग्याउन कार्यदलसमेत बनेको थियो। कार्यदललेसमेत विवाद टुङ्याउन सकेन।
अहिले पनि भूमे गाउँपालिकाले बाग्लुङको भएको र बागलुङतर्फ नै ल्याउने गरी सडक निर्माण गरिरहेको निसीखोलाका स्थानीयको भनाइ छ। गत वर्षदेखि नै भूमे गाउँपालिकाले पुनः बागलुङमा पर्ने रिगा तालसम्म जोड्न सडक निर्माण गर्न थालेपछि विवाद थप बढेको निसीखोला गाउँपालिका–६ का अध्यक्ष हिमबहादुर बुढामगरले बताए।
भूमे गाउँपालिका–१ ले आफूखुसी अर्काको भूभागमा आएर पूर्वाधार निर्माण गरेको भन्दै निसीखोला गाउँपालिका–६ ले उक्त निर्माण कार्य तत्काल रोक्न पत्र पठाएको बताए। उनले विवाद नसुल्झेसम्म कुनै पनि पालिकाले यस क्षेत्रमा विकास निर्माण नगर्ने सहमति गरे पनि भूमे गाउँपालिकाले आफू खुसी सडक निर्माण गर्न थालेको बताउँछन्।
'भूमे गाउँपालिकाले २०७५ सालमा हाम्रो क्षेत्रमा आएर प्रवेशद्वार नबनाएको भए यो विवाद सिर्जना हुने थिएन, प्रवेशद्वार निर्माणलाई रोकियो तर विवाद सुरु भयो, अहिले पनि उहाँहरुले हाम्रो क्षेत्रमा आएर पूर्वाधार निर्माण गरी आफ्नो भएको दाबी गर्दै हुनुहुन्छ,' अध्यक्ष बुढामगरले भने, 'विवाद नरोकिएसम्म यस क्षेत्रमा कुनै पनि पालिकाले विकास निर्माणका काम नगर्ने भन्ने सहमति गर्यौँ तर उहाँहरुले अहिले सडक बनाउँदै हुनहुन्छ।'
प्रवेशद्वार बनाउने बेला निसीखोलाका स्थानीयले संरचना निर्माण गर्न रोकेका थिए । भूमे गाउँपालिकाका–१ का वडाध्यक्ष मनकाजी पुन मगर अहिले निर्माण भइरहेको सडक आफ्नै क्षेत्रमा भएको दाबी गर्नुहुन्छ। अध्यक्ष पुन मगरले उक्त सडक पर्यटन प्रवर्द्धनका लागि निर्माण गर्न थालिएको बताए।
उनले नापी विभागले जारी गरेको आधिकारी नक्सा हर्ने र सोही आधारमा विवाद टुङ्याउने भन्दै यस अगाडि गुगल नक्सामार्फत विवाद मिलाउने कोसिस भएको जनाउँदै त्यो नक्सा आधिकारीक नभएको उल्लेख गरे।
'अहिले हामीले निर्माण गर्न थालिएको सडक हाम्रै भूभागमा पर्छ, यो सडक पर्यटन प्रवद्र्धनका लागि निर्माण गर्न थालेका हौँ, लोकमार्गदेखि कोइपाडाँडासम्म जोड्ने गरी सडक निर्माण भएको छ,' उनले भने, 'नापी विभागको आधिकारिक नक्सा लिएर हेर्ने त्यसपछि हामीले दाबी गरेको क्षेत्र जता परे पनि हामी मान्न तयार हुन्छौँ, हामीलाई लाग्छ, यो क्षेत्र हाम्रैमा पर्छ।'
निसीखोला गाउँपालिका–६ का स्थानीय टेकबहादुर घर्तीले रिग ताल र पातीहाल्ने क्षेत्र पर्यटकीय हिसाबले निकै संभावना बोकेको ठाउँ भएको हुँदा भूमे गाउँपालिकाले आँखा लगाएको जानकारी दिनुभयो । उहाँले यो क्षेत्र निसीखोलाका पाका पुर्खा सयौँ वर्षदेखि चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको बताउनुभयो । घर्तीले रिगतालमा पछिल्लो समय सयौँ पयर्कट आउन थालेपछि रुकुमले आफ्नो दाबी गरेको बताउँछन्।
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले सीमा विवादका बारेमा जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी र प्रदेश सांसदहरू, निर्वतमान गाउँपालिका अध्यक्ष, वडाध्यक्षसँग पटकपटक छलफल भए पनि यसको समाधान हुन नसकेको बताए। उनले प्रदेश सरकारलाई सय विषयमा जानकारी गराएपछि तदारुकता नदेखाएको बताए।
'यो विवाद मिलाउन हामीले निकै प्रयास गर्यौँ सकिएन। यतिका वर्ष भयो, प्रदेशमा पनि जानकारी गरायौँ, तर कुनै सुनुवाइ नै भएन। सांसदहरु पनि आएर यहाँ विवाद मिलाउने कोसिस गनुभयो तर सक्नुभएन,' उनले भने, 'अब तिहार पछाडि अथवा चुनाव पछाडि जसरी पनि यो टुङ्ग्याउनु पर्नेछ। विवादले ठूलो रुप लियो भने यहाँ ठूलो घटना हुनसक्छ, घटना हुन नदिन सहजरुपमा विवाद मिलानका लागि हामी फेरि पनि जुट्नेछौँ।'
मध्यपहाडी लोकमार्गले दुई जिल्ला नजोडिँदा यस क्षेत्रमा निसीखोलाका स्थानीयले चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएका थिए। यो ठाउँ सुनसान थियो। अहिले पातीहाल्नेमा घर भवन निर्माण गरी व्यवसाय सञ्चालन हुँदै आएको छ । यस क्षेत्रमा दैनिक दर्जनौँ आन्तरिक पर्यटक पुग्ने गर्दछन्। आफ्नो भूमि आफूले नछोड्ने निसीखोलाका स्थानीयको भनाइ छ।