सोमबार, वैशाख २८, २०८३

कर्णालीमा लोकप्रिय बन्दै भोसो

भोसी कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट, जाजरकोटका जिल्ला तथा सुदूरपश्चिमको अछाम, बझाङलगायतका जिल्लामा खेलिने लोकनृत्यको एक लोकप्रिय सांस्कृतिक परम्परा हो।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

दैलेख- भोसी कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट, जाजरकोटका जिल्ला तथा सुदूरपश्चिमको अछाम, बझाङलगायतका जिल्लामा खेलिने लोकनृत्यको एक लोकप्रिय सांस्कृतिक परम्परा हो। दैलेखका विभिन्न स्थानमा भोसी खेल्ने समय फरक–फरक भए पनि तिथिका हिसाबले तिहारको समयमा अर्थात् कार्तिक कृष्ण चतुर्दशीको रातमा भोसी खेल्ने प्रचलन रहेको छ।

National life

जिल्ला सदरमुकाम नजिकै रहेको जाहरकोट गाउँलगायतका क्षेत्रमा भोसी अहिले पनि खेल्ने गरिन्छ। दैलेखको जाहरकोट, रावतकोट, लाँकुरी, विन्ध्यवासिनी, सिगौडी, सात्तला, चौराठा तथा दुल्लुलगायतका क्षेत्रमा भोसो संस्कृति कायमै छ।

भोसो भिन्न–भिन्न नामले परिचित छ। भोसोलाई कतै भुओ, कतै भोसी त कतै भास्सी पनि भन्ने गरेको पाइन्छ। आदिकालदेखि नै यस खेललाई जस्ताको तस्तै (हुबहु) मान्दै आएको पाइन्छ। वर्ष दिनको एकपटक मात्र खेलिने भएकाले पनि यस खेललाई ‘एकदिने खेल’ पनि भन्ने चलन छ।

यो मुलतः पुरुषप्रधान खेल हो। किनभने रत्यौलीजस्तै भोसोमा पनि अश्लील शब्द प्रयोग गर्ने गरिन्छ। भोसोमा व्यक्त गरिने गालीगलौज विकृतिका रूपमा नभएर सुरुआतकालदेखि नै प्रचलनमा ल्याइएको मान्यता रहिआएको नारायण नगरपालिका–२ का लालबहादुर थापा बताउँछन्। उनले पछिल्लो वर्षहरूमा यस्तो अपशब्द बोल्ने चलन कम भएको सुनाए। पुर्खादेखि सुरु भएको यो संस्कृति जस्ताको तस्तै संरक्षण गरेर अगाडि लैजान त्यति सजिलो नभएको उनको भनाइ थियो।

भोसो खेलाडीलाई भुआरा भन्ने चलन छ। भोसोमा कोठी बनाइन्छ, जसलाई जलाउने ठाउँलाई अधिकांश क्षेत्रमा भुवाखाडा भन्ने गरिन्छ। भोसो व्यवस्थापन गर्ने मुलीलाई नायक भन्ने चलन छ। त्यस्तै भोसो खेल्दा प्रयोग गर्न सल्लाको दियालोबाट निर्माण गरिने राँको बोक्ने पालकीलाई कोठी भन्ने चलन छ। पहिले–पहिले भोसी खेल सप्ताहव्यापीरूपमा खेलिने गरेको भए पनि पछिल्ला वर्षहरूमा भने छोट्याइएको छ।

यसरी हुन्छ भोसीको सुरुआत

गाउँका विभिन्न टोलबाट छुट्टाछुट्टै भोसो निकाल्ने परम्परा छ। गाउँका भोसी खेल्ने भुआराहरू जम्मा भएर भोसीको सुरुआत गर्दछन्। भोसीका लागि बनाइने कोठीमा राख्न हप्ता दिन अघिदेखि नै दियालोको (झोरो)को जोहो गरिएको हुन्छ। दियालो राख्न बनाइने कोठी साल वा बाँसको निर्माण गर्ने चलन छ। जसलाई पालकीजस्तो बनाएर चार जनाले काँधमा भोसी गाउँदै अघिपछि गर्ने गर्दछन्। लक्ष्मी पूजाको बिहानीपख भोसी सेलाउने चलन छ। अथवा भोसी समापन गर्ने चलन हुन्छ।

नदी वा धारा, मूल नजिक वा भोसो सेलाउने निर्धारित ठाउँ पहिले नै तोकिएको हुन्छ। नारायण नगरपालिका–२ जाहरकोट गाउँको हकमा भोसो सुरुआत गरेको झण्डै दुई किलोमिटर टाढा रहेको भुवाखाडामा भोसो सेलाउने परम्परा रहेको स्थानीय लालबहादुर थापाले बताए। धार्मिक, सांस्कृतिक र सामाजिक मान्यता बोकेको भोसी, धमारी, चुट्किलाजस्ता खेल विशुद्ध ठट्टा र भद्दा मजाक मात्र नभएर सामाजिक सद्भावको बन्धनलाई कसिलो बनाउने उनको भनाइ छ।

कोठी सेलाएपछि सिलङ्गेडाली, चुट्का, धमारी र मारुनी गाउँदै नाच्दै घरघरमा भैलो खेल्ने, सिलिङ्गी डाली खेल्ने, भैली खेल्ले गरिन्छ। त्यसपछि भोसीको समापन हुन्छ। भोसीको कोठी सेलाइसकेपछि धमारी गाउने अर्को परम्परा रहेको छ। यस भाकाको पनि लोक संस्कृतिमा निकै महत्वपूर्ण स्थान रहेको छ। विशेषगरी विवाह, व्रतबन्धलगायत शुभकार्यको बेलामा धमारी, चुट्किला, माङ्गल गाउने चलन छ। तर पुस्तान्तरण चुनौतीपूर्ण बन्दै गएकोप्रति अगुवाहरू नै चिन्तित देखिन थालेका छन्।

भोसो संस्कृतिलाई जीवन्त राख्नका लागि पुस्तान्तरण आवश्यक रहेको अगुवाहरू बताउँछन्। वर्ष दिनको एकपटक नाचेर वा गाएर पुरानै लयलाई हुबहु उतार्न नयाँ पुस्तालाई पनि सजिलो नभएको जाहरकोटकी लक्ष्मी थापा बताउँछन्। ‘पुर्खादेखिको यो संस्कृतिलाई जगेर्ना गर्नुपर्छ, अनि पुस्तान्तरणमा पनि ध्यान दिनुपर्छ’, थापाले भने।  -रासस

प्रकाशित: Oct 28, 2022| 10:05 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।