काठमाडौं- यसवर्षको पद्मश्री साहित्य पुरस्कार नयनराज पाण्डेको संस्मरणात्मक कृति यार लाई प्रदान गरिने भएको छ । खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले सोमबार विज्ञप्ति जारी गरी पद्मश्री पुरस्कार- २०७४ को घोषणा गरेको हो ।
पद्मश्री साहित्य पुरस्कारबाट वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये उत्कृष्ट एक कृतिलाई र पद्मश्री साहित्य साधना नेपाली साहित्यमा महत्वपूर्ण योगदान गर्ने श्रष्टालाई सम्मान गर्ने गरिन्छ । प्रतिष्ठानले २०७४ सालमा प्रकाशित साहित्यिक कृतिहरुमध्ये यारलाई सर्वोत्कृष्ट ठहर गरेको हो ।
यस्तै यसपटकको पद्मश्री साधना सम्मानबाट डाक्टर तारानाथ शर्मालाई सम्मान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए । झर्रोवादी आन्दोलनका अभियन्ता डाक्टर शर्मा, ३ दशकदेखि नियात्रा, निबन्ध, समालोचना, आख्यान अनुबाद र सम्पादन लगायत क्षेत्रमा विशिष्ट योगदान पुर्याएका छन् ।
प्रतिष्ठानले २०६२ सालदेखि मोफसलमा प्रकाशित साहित्यिक कृतिलाई पद्मश्री साहित्य पुरस्कार दिँदै आएको छ। पुरस्कारको राशि दुई लाख रुपैयाँ छ । पुरस्कार र सम्मान कोजाग्रत पूर्णिमामा प्रदान गरिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४