काठमाडौं- गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या मुद्दामा सफाई पाएका छविलाल पौडेल रिहा भएका छन् । अधिकारीको हत्या आरोपमा पक्राउ परेका उनलाई आइतबार जिल्ला अदालत चितवनले सफाइ दिएपछि सोमबार रिहा गरिएको हो ।
अदालतले आइतबार फुजेल काण्डका १३ जना प्रतिवादीमध्ये १२ जलाई सफाइ दिने फैसला गरेको थियो । जसमा पौडेलको नाम पनि समावेश थियो ।
२४ असारमा सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका उनी डिल्लीबजार कारागारमा थिए । उनी डिल्लीबजार स्थित कारागारबाट रिहा हुँदा उलनाई निकै तामझाम र बाजागाजासहित नेकपाका कार्यकर्ताहरुले स्वागत गरे । उनलाई स्वागत गर्न खासगरि फुजेलबासी पुगेका थिए ।
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धका बेला २४ जेठ २०६१ मा गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको अपहरणपछि हत्या भएको थियो ।
मृतक कृष्णका बुवा नन्दप्रसाद छोराका हत्या भएको भन्दै २४ जेठ २०६१ मा जिल्ला प्रहरी कार्यालय चितवनमा जोहरी दिएका थिए । त्यसको डेढ वर्षपछि मृतकको दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बाबु नन्दप्रसाद अधिकारीको पनि अनशनका क्रममा निधन भएको छ । आमा गंगामायाले भने केही महिनाअघि मात्र अनशन तोडेकी थिइन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४