काठमाडौं-साफ च्याम्पियनसिपको यात्रा फेरि एकपटक नेपालको सुखमय भएको छ । समूह चराको अन्तिम खेलमा नेपालले आयोजक राष्ट्र बंगलादेशलाई पराजित गर्दै २०१३ पछि पुनः समूह चरण पार गरेको छ ।
अहिलेसम्म नेपालले साफमा आफ्नो समूह चरणको पहिलो खेल गुमाउदा समूह चरण नै पार नगरेको इतिहास थियो । जुन इतिहासलाई भंग गर्दै नयाँ इतिहास समेत कोरेको छ । नेपाल यस अघि बंगलादेशमा आयोजना भएको दुई साफ च्याम्पियनसिपमा समूह चरणबाट बाहिरिएको थियो ।
साफमा नफाबेको बंगलादेश, यो पटकको प्रतियोगितामा भने स्वयम आयोजक राष्ट्रलाई नै पराजित गर्दै पुरानो रोगमा मलमपट्टि लगाएका छन् ।
जारी १२औं साफ सुजुकी च्याम्पियनसिपमा नेपालका लागि मिड्फिल्डर सुनिल बल नायक भएका छन् । जब उनी बंगलादेशको मैदानमा चम्के तब नेपाले साफमा समूह चरण पार गर्ने आशा जिवित राखेका थियो ।
आफ्नो पहिलो खेलमा राम्रो खेल्दा खेल्दै पराजय भोगेको नेपालका लागि अन्तिम खेल सम्म समूह चरण पार गर्ने सम्भावना जीवित राख्न भुटानलाई हराउनै पर्ने थियो । भयो पनि त्यस्तै नेपालले चाहे जस्तै नतिजा निकाल्यो । त्यसमा नेपाली टोलीले समूहगत प्रदर्शन गर्यो ।
समूहगत प्रदर्शनमा सबै भन्दा उत्कृष्ट बने सुनिल बल । उनी त्यो खेलका लागि मात्र हैनन् । उनी प्रतियोगिताकै मुख्य आकर्षण बने । सुनिलले भुटानसँगको खेलमा भएका ४ गोल मध्ये ३ गोलमा उनको महत्वपुर्ण भुमिका रह्यो । जसमा सुनिलले १ गोल र दुई असिस्ट गरेका थिए ।
खेल सकिए पछिको पोस्ट म्याच कन्फ्रेन्समा नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले लजाउँदै, ‘आइ लाइक हिम’ भनेपछि उपस्थित पत्रकार सबै गलल्ल हासेका थिए । भुटानलाई ४–० ले हराएपछि सुनील बलको बारेमा सोधिएको प्रश्नमा महर्जनको त्यो जवाफले सबैलाई हँसाएको थियो ।
सुनीललाई लभ वा लाइक गर्नुपर्ने महर्जनसँग पर्याप्त आधार थियो । कारण सुनीलले भुटानविरुद्ध गरेको त्यो शसक्त र छरितो प्रदर्शन ।
हुन त नेपालका लागि भुटान कठिन प्रतिद्घन्द्धि होइन । तर, पनि पहिलो खेलमा पाकिस्तानसँग पराजित भएपछि नेपालका लागि भुटानसँगको खेल गर वा मरको अवस्थामा थियो । त्यो खेल नजित्नुको अर्थ फरकै हुन्थ्यो । मैदानभरी सुनिल छाईरहे, अनि भुटानी रक्षापंक्तिलाई हल्लाइरहे ।
पहिलो हाफमै उनले आफ्नो क्षेत्रबाट विपक्षीको पेनाल्टी क्षेत्र अगाडिसम्म बल बढाउँदा नै धेरैको ध्यान आफु तिर तानिसकेका थिए । २१ औं मिनेटमा अनन्त तामाङ र ८८ औं मिनेटमा नीराजन खड्का दुवैले सुनीलकै कर्नरमा हेड गरेका थिए । ७१ औं मिनेटमा विमल घर्तिमगरको पेनाल्टीलाई भुटानका गोलकिपरले रोकेपछि त्यहि रिबाउन्डमा उनले कुनै गल्ति गरेनन् र थप एक गोल गर्दै उनी नायक बने ।
राष्ट्रिय टोलीका लागि उनको त्यो पहिलो गोल हो । सुनीलले पहिलो रोजाईमा खेलेको त्यो पहिलो खेल पनि थियो । यसअघि खेलमा उनी परिवर्तित खेलाडीका रुपमा मात्र मैदान प्रवेश गरेका थिए ।
सायद विमल घर्तिमगर, अन्जन बिष्ट र अनन्त तामाङकै पिंढीका खेलाडी भएर होला उनी यसअघि त्यती चर्चामा आउन सकेनन् । उनी यस अघि यिनै खेलाडीको छायामा परे । तर, यस खेलमा पहिलो रोजाईमा पर्दै आफु उत्कृष्ट भएको सावित गरे ।
२०७२ भदौंमा नेपालले साफ यू १९ च्याम्पियनसिप जित्दा सुनील पनि टोलीका मुख्य खेलाडी थिए । तर, राष्ट्रिय टोली सम्म पुग्न भने उनलाई समय लाग्यो । सोही पिंढीका अनन्त, अन्जन र हेमन्त थापा मगरले साफ जिते लगत्तै राष्ट्रिय टोलीमा मौका पाए । तर, सुनीलले केहि समय कुर्नुपर्यो । विमलले भने सन् २०१४ मै सिनियर टोलीमा अवसर पाइसकेका थिए ।
भुटानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका सुनील आफैलाई भने खेलको केहि अघि मात्र पहिलो रोजाईमा परेको थाहा पाएका थिए । खेल पछि उनले भने, ‘टिम मिटिङ म आजै खेल्दैछु भन्ने सरबाट थाहा पाए । सरप्राइज भए । अनि लाग्यो आज जति सक्दो राम्रो खेल्नुपर्छ । त्यहि कोसिस गरे ।’
थ्री स्टार क्लबका २० वर्षे सुनीलले सन् २०१६ मा लाओसविरुद्ध भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए । यहि साता इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदमा टोलीमा थिए । थ्री स्टारअघि उनले संकटा र सुदूरपश्चिम फुटबल क्लबबाट पनि खेलेका थिए ।
एउटै खेलले कुन खेलाडीलाई कत्ति लामो यात्रा तय गर्छ वा भविष्यमा कस्तो प्रदर्शन गर्छ भन्न सहज छैन । तर, जसरी सबै खाले उमेर समूह हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेका सुनीलले भविष्यमा नेपाली फुटबलको स्टार बन्ने सम्भावना भने देखाएका छन् । यसका लागि सुनिलले आउने दिनमा आफुलाई थप प्रमाणित गर्नुपर्ने हुन्छ।