शुक्रबार, वैशाख १४, २०८१

‘नालापानी हेरेपछि नेपाली हुनुको गर्व महसुस’

मातृभूमिको रक्षाका लागि प्राण त्याग्न तयार वीर नेपालीको गौरवगाथा चलचित्रमा हेर्न पाउनु अहोभाग्य भएको दर्शकको प्रतिक्रिया।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९

काठमाडौं– शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘नालापानी’ हेर्दा जोश जागृत भएको प्रतिक्रिया दर्शकले दिएका छन्। उनीहरूले मातृभूमिको रक्षाका लागि प्राण त्याग्न तयार वीर नेपालीको गौरवगाथा चलचित्रमा हेर्न पाउनु अहोभाग्य रहेको बताएका छन्।

triton college

शुक्रबार विभिन्न हलमा चलचित्र हेरेका दर्शकले बलभद्र जस्ता महान योद्धाका कारण सार्वभौम सम्पन्न नेपाली भनेर गर्व गर्न पाइरहेको महसुस भएको प्रतिक्रिया दिएका हुन्।

शुक्रबार साँझ काठमाडौंमा अभिनेता दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा तथा चलचित्रको टिम र पत्रकारले ‘नालापानी’ हेरेर प्रतिक्रिया दिएका छन्।

अभिनेता रमेश उप्रेतीले सच्चा नेपाली हौं र वीर पुर्खाको योगदानलाई सम्मान गर्न चाहन्छौं भने एक पटक यो चलचित्र हेर्नैपर्ने बताए। ‘जसले नेपाली भनेर गौरव महसुस गर्नुहुन्छ, सबैले यो चलचित्र हेर्नुपर्छ’, उनले भने।

उप्रेतीले पुस्तकमा पढ्दा थाहा नभएका कैयन कुरा पनि यो चलचित्रमा देख्न सकिने बताए।

corrent noodles
Metro Mart

निर्देशक दीपाश्री निरौलाले आफूले मुटु दह्रो बनाएर नालापानी हेरेको सुनाइन्। ‘ऐतिहासिक कुरालाई चलचित्रमा ल्याउन र यसलाई हलमा बसेर हेर्न पनि दह्रो मुटु चाहिन्छ। यसलाई व्यापक बनाउन साथ दिनेछौं’, उनले भनिन्।

अभिनेता दीपकराज गिरी यो चलचित्रलाई आँखाले नभई मनले हेर्नुपर्ने बताउँछन्। उनले भने, ‘नेपालको गर्विलो इतिहास हुँदाहुँदै पनि हामीले चाहे जसरी ती कथालाई पर्दामा देखाउन सक्दैनौं। यो चलचित्र निर्माण पक्षले त्यो प्रयास गरेको छ, जुन अत्यन्त दह्रो इतिहास बनेर बसेको छ।’

निर्देशक उज्ज्वल घिमिरेले चलचित्रले नालापानी युद्धको कथा पूर्ण गरेको बताए। निर्माता अशोक शर्माले नेपालमा बनेका थुप्रै ऐतिहासिक चलचित्रभन्दा यो चलचित्र धेरै राम्रो बनेको उल्लेख गरे। 

उनले भने, ‘यो चलचित्रलाई मनोरञ्जनको रुपमा मात्र हेरिनुहुन्न। आज हामी नेपाली भनेर बाँच्ने आधार कसरी बनेको थियो भन्ने थाहा पाउन हरेक नेपालीले यो चलचित्र हेर्नैपर्छ।’

कलाकार निर्मल शर्माले आफूले तीन पटकसम्म नालापानी चलचित्र हेरिसकेको सुनाए। उनले एक नेपाली हुनुको गर्व, राष्ट्रियताको कुरा र आफ्नो भूमि रक्षाका लागि त्यो समय नेपाली सेना र बलभद्रले गरेको साहसलाई बिर्सन नदिने गरी यो चलचित्र बनेको हुँदा पाठ्यक्रमको एउटा सामग्रीको हिसाबले राखिनुपर्ने सुझाए।

नेपाल–अंग्रेज युद्धका बडाकाजी अमरसिंह थापाको भूमिका निर्वाह गरेका अभिनेता अर्जुनजंग शाहीले यस चलचित्रमा निर्देशक रिमेश अधिकारीको मिहिनेतको प्रशंसा गरे। अभिनेत्री पुजना प्रधानले दर्शकले आफ्नो इतिहास भनेर हेरेको र अत्यन्त मन पराएको प्रतिक्रिया दिइन्।

ब्रिटिस सेनाका क्याप्टेन बनेका अभिनेता बिशाल पहारीले चलचित्र हेर्दा त्यो पात्र आफू नै हो भन्ने महसुस नगरेको बताए। उनले भने, ‘चलचित्र हेरिरहँदा आफैंले वहन गरेको पात्रलाई साँच्चिकै दुस्मनको रूपमा देखें। चलचित्र हेर्दा हेर्दै खुकुरी भएको भए पर्दामै हानौंजस्तो महसुस भयो।’ निर्देशक अधिकारीले चलचित्र दर्शकको रुचाइमा परेको प्रतिक्रिया दिए। उनले आफूले चलचित्र बनाएर बोल्नुपर्ने सबै बोलिसकेको र सबै नेपालीले हेर्नुपर्ने बताए।


प्रकाशित: Oct 23, 2022| 11:50 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्