कात्तिक- दाङ तुलसीपुर उपमहानगरपालिका-११ मोतिपुर नजिकै बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरी अझैँ फेला पर्न नसकेको प्रहरीले जनाएको छ।
बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो १ बजे दंगिशरण गाउँपालिका–२ की १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर गाउँपालिका–१ की १४ वर्षीया गोमा चन्द डुबेर बेपत्ता भएका थिए।
डुबेर बेपत्ता भएको खबर पाएलगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरेका थिए। तर, रात परेपछि उनीहरूको खोजी गर्न नसकिएको र आज आइतबार पुन: खोजी गरिने इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।
उनका अनुसार बबई नदी गहिरो रहेकाले बेपत्ता किशोरीको खोजी कार्यमा कठिनाइ भइरहेको छ। आज आइतबार नेपालगञ्जबाट गोताखोरको टोली बोलाएर किशोरीहरूको खोजी गरिने डिएसपी मल्लले बताए।