काठमाडौं- तिहारको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा 'सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरिएको छ। शनिबार प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा देउसीभैलो आयोजना गरेका हुन्।
कार्यक्रममा समसामयिक राजनीति, बढ्दो भ्रष्टाचार तथा सामाजिक विसांगतीविरुद्ध व्यङ्ग्यात्मक प्रस्तुति गरिएको थियो। कार्यक्रममा साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरियो।
कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, चक्र दुवाडीलगायतले व्यङ्ग्यात्मक प्रस्तुति दिए भने व्यङ्ग्यकविका रुपमा परिचित अर्जुन पराजुलीले विभिन्न आधा दर्जन कविता वाचन गरेर दर्शकको मन जिते।
उक्त देउसीभैलोमा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई , विभागीय मन्त्रीहरू, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, काठमाडौंका प्रमुख बालेन साह, ललितपुरका प्रमुख चिरिबाबु महर्जन, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायत सहभागी थिए।
प्रज्ञा भवन र डबलीमा खचाखच भरिएका दर्शकका अगाडि अच्युतराम भन्डारीको नेतृत्वमा ३८ जनाले तवलाबाट दर्शकलाई स्वागत गरेका थिए।
लगत्तै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेलले पैसाका लागि कसरी नेताले जनताको भावनासँग खेल्छन् भन्ने प्रस्तुति दिए। सिद्धान्त फरक भए पनि सत्ता, शक्ति र पैसामा उनीहरूले इमान बेच्छन् भन्ने कुराको प्रस्तुति दिँदा दर्शकले तालीमार्फत् समर्थन गरे।
कवि अर्जुन पराजुलीले आधा दर्जन कवितामा समसामयिक विषयलाई उठान गरे। विभिन्न कालखण्डमा नेता तथ नेतृत्वले जनतालाई देखाउने सपना र ती सपनाको भर्याङ चढेर जनताका सपनामाथी खेलवाड गर्छन भन्ने कुरालाई गम्भीर रूपमा प्रस्तुत गरे।
निरन्तर हरेक वर्ष तिहारको उपलक्ष्यमा सिस्नुपानी नेपालले देउसी भैलो कार्यक्रम गरे पनि यस अघि दुई वर्ष कोरोनाले गर्दा आयोजना गर्न सकेको थिएन। दुई वर्ष पछि भएको कार्यक्रम भव्य भएको आयोजकले जनाएको छ।
'देउसी भैलो उत्साहजनक रह्यो। दर्शकको मायाले हामी पुलकित भएका छौं,' संस्थाका अध्यक्ष लक्षण गाम्नागेले भने। देशको विकृति विसङ्गतिका विरुद्ध सिस्नुपानी नेपालले सामाजिक आन्दोलन अभियानका रुपमा चलाउँदै आएको छ। यसलाई अझ सशक्त बनाएर खबरदारी गर्दै सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि आवाज उठाइरहने आयोजकले जनाएको छ।