काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार भएका ४०७ जनाले जरिमाना नबुझाए बन्दसूचीबाट नाम हटाइने निर्वाचन आयोगले बताएको छ। जरिमाना बुझाउने शनिबार अन्तिम दिन हो।
स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई आयोगले शनिबारसम्मको समय दिएको हो।
आयोगले शनिबार बिदाका दिन पनि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिमाना बुझाउन सकिने बताएको छ।
जरिमानाबापतको रकम नबुझाउने उम्मेदवारको हकमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने आयोगको भनाइ छ।
३१ भदौको निर्णयअनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम जरिमाना भएकामा यसरी जरिमाना तोकिएका उम्मेदवारको नाम ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्दसूचीमा समावेश भएको भए त्यस्ता उम्मेदवारले आफूलाई तोकिएको जरिमानाबापतको रकम आयोगलाई बुझाउनुपर्नेछ।
उम्मेदवारको निवेदनउपर जाँचबुझ गर्ने समयसीमा ५ कात्तिक कार्यालय समयभित्र बुझाए जरिमाना असुलउपर भएको कायम गरी उम्मेदवारी दर्ता गर्न आयोगले समानुपातिक प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो।
समानुपातिकतर्फका जरिमानामा परेका ४३९ उम्मेदवारमध्ये शुक्रबारसम्म ३२ जनाले जरिमाना बुझाइसकेका छन्। ४०७ जना बाँकी छन्।