मंगलबार, वैशाख २५, २०८१

कञ्चनपुर–२ मा धामीमाथि साउद भारी

३१ वडा रहको क्षेत्र नम्बर २ मा १५ वडामा कांग्रेस, ८ मा माओवादी, २ मा समाजवादीले जितेको छ भने ६ वटा वडामा मात्र एमालेले जित हात पारेको छ।
 |  शनिबार, कात्तिक ५, २०७९

राज सरगम

राज सरगम

शनिबार, कात्तिक ५, २०७९

काठमाडौं– कञ्चनपुर क्षेत्र नम्बर २ सुदूरपश्चिममा निकै चासोपूर्वक हेरिएको निर्वाचन क्षेत्र हो, जहाँ प्रतिनिधिसभा सदस्यका लागि पुरानै उम्मेदवारद्वय चुनावी मैदानमा छन्। 

triton college

कांग्रेसका हेभिवेट उम्मेदवार नारायणप्रकाश (एनपी) साउद र एमाले नेता नरबहादुर धामीबीच प्रतिस्पर्धा हुँदैछ। क्षेत्र–२ बाट २०७४ मा साउद र धामीबीच प्रतिस्पर्धा भएको थियो। तत्कालीन वाम गठबन्धन बनेका धामीले उक्त निर्वाचनमा जित हात पारेका थिए। 

वाम गठबन्धनको बलमा धामीले ३३ हजार २२० मत ल्याउँदा कांग्रेसका साउदले २४ हजार ८९३ मत ल्याएका थिए। अहिले अघिल्लो जितलाई निरन्तरता दिन लागि परेका धामीसँग ०७४ को हारको बदल लिने दाउमा साउद रहेका छन्। 

२०७४ मा साउदले हार्नुको कारण थियो– वाम गठबन्धन। तर अहिले एमाले एक्लो भएको र कांग्रेस गठबन्धनसहित निर्वाचनमा होमिएकाले साउदको पक्षमा माहोल बनिरहेको स्थानीय कांग्रेसका नेता, कार्यकर्ता बताउँछन्। 

यसअघि तीन पटक पराजय भोगेका र दुई पटक जित हात पारेका साउद छैंटौं पटक संसदीय निर्वाचन लडिरहेका छन्। यो पटकको हारजितले उनको राजनीतिक यात्रा तय गर्नेछ। 

corrent noodles
Metro Mart

साउदको राजनीतिक यात्रा 
कांग्रेस केन्द्रीय सदस्य साउद पाँच पटक संसदीय निर्वाचमा होमिएका छन्। साउद पहिलोपटक २०५१ सालमा भएको मध्यावदी निर्वाचनमार्फत संसदीय यात्रा तय गरे एमालेका उर्बादत्त पन्तसँग पराजित भए। त्यस समयमा उनी हालको कञ्चनपुर–३ बाट चुनाव लडेका थिए। 

उनी २०५६ मा कञ्चपुर–३ रमेश लेखकका लागि छोड्दै कञ्चनपुर–१ बाट चुनाव लडे र १३ हजार १ सय १ मत ल्याएर एमालेका रामकुमार ज्ञवालीलाई पराजित गरे। 

त्यसैगरी २०५६ को आमनिर्वाचनमा तीन वटै क्षेत्र कांग्रेसको पोल्टामा परेको थियो। क्षेत्र–१ बाट साउद, २ चटौत र ३ बाट रमेश लेखक विजयी भएका थिए। 

कञ्चनपुर–२ बाट २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका देवीलाल चौधरीसँग पराजित भए। माओवादीका चौधरीले १८ हजार २८४ मत ल्याए भने साउदले ११ हजार २०२ मत पाएका थिए।

कञ्चनपुर–२ बाटै २०७० को आमनिर्वाचनमा साउद १३ हजार ४१५ मतसहित विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी एमालेका तारा लामा तामाङले ९ हजार ६७६ मत ल्याई पराजय भोगे।

दुई पटक मन्त्री बनेका साउदले कञ्चनपुरको विकासका लागि धेरै कामहरु गरेका छन्। पहिलो पटक शिक्षा राज्यमन्त्री हुँदा शिक्षा क्षेत्रको सुधारमा काम गरे भने दोस्रोपटक सिचाईंमन्त्री हुँदा सिचाईं तथा कृषि क्षेत्रका लागि काम गरे।

कञ्चनपुरका हरेक सुखदुखमा आफू उभिएको बताउँदै यसपटक आफ्ना जित निश्चित भएको साउदको दाबी छ। कोरोना महामारीले मुलुक आक्रान्त भएको समयमा एमालेबाट विजयी भएका धामी सम्पर्कविहीन हुँदा साउँद भने त्यहाँका नागरिको स्वास्थ्य सामग्री पठाउने र उपचारमा सहयोग गर्ने काममा लागिरहेका थिए। 

आफूले जनताका पक्षमा गरेका कामहरु नै आफ्नो जित्ने आधार भएको साउद बताउँछन्। उनले भने, ‘अघिल्लो निर्वाचनमा यदि वाम गठबन्धन हुन्थेन भने मैले जित्थें। प्रजातन्त्रका लागि कांग्रेसले दिएको योगदान र यहाँका जनताका लागि मैले गरेका कामहरुलाई हेरेर जनताले मेरो पक्षमा मतदान गर्नुहुनेछ भन्नेमा विश्वस्त छु।’

क्षेत्र–२ को विकासका लागि विभिन्न एजेन्डा उनले सुनाए, ‘स्वास्थ्य, शिक्षा, युवालाई रोजगारसहित जोनापुर–पिपलाडी सडक खण्ड निर्माण, धार्मिक तथा सांस्कृतिक पर्यटन विकास, चुरे क्षेत्रलाई जोड्ने सडक निमार्ण र आरक्षपीडितको व्यवस्थापन, होमहोस्टेलगायतका कामहरु गर्नेछौं।’   

नरबहादुरलाई एनपी भारी 

अघिल्लो चुनावमा वाम गठबन्धनको साहरामा जितेका नरबहादुर धामीलाई यस पटक सत्तारुढ गठबन्धन हुँदा एनपी साउद भारी पर्ने देखिन्छन्

२०५१ को मध्यावधि निर्वाचनमा तीन क्षेत्र कायम गरिएकामा तीन वटै क्षेत्र एमाललेले हात पारेको थियो। त्यतिबेला क्षेत्र–१ मा रामकुमार ज्ञवाली, २ मा भोजराज जोशी र ३ मा उर्बादत्त पन्त विजयी भएका थिए।

धामी यसअघि २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र–३ मा कांग्रेसका बहादुर थापासँग पराजित भएका थिए।

सत्तारुढ गठबन्धनले चुनाव जित्ने दाबी गरे पनि जनताले एमालेलाई नै जिताउने दाबी धामीको छ। उनी भन्छन्, ‘वामपन्थी र दक्षिणपन्थीको गठबन्धन केका लागि हो भन्ने जनताले बुझेकाले हामीले चुनाव जित्छौं। जनताले एमालेलाई जिताउनेछन्।’

१ लाख ७ हजार मतदाता भएको क्षेत्र–२ बाट ३६ हजार बढी मत ल्याएर जित्ने धामीको दाबी छ। भन्छन्, ‘अहिले अघिल्लो चुनावमा भन्दा बढी मतदाता छन्। यो क्षेत्रबाट मसहित १० अन्य उम्मेदवार उठेका छन्। केही भोट काटिए पनि ३५–३६ हजार मत ल्याएर जित्ने हो।’ 

निवर्तमान सांसद धामीले आफ्नो कार्यकालमा क्षेत्र–२ का समस्या संसद्मा आवाज उठाएको बताउँछन्। भन्छन्, ‘जनताको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा काम गर्न हामीले संसद्मा आवाज उठायौं। जनताले मलाई जिताउनेमा ढुक्क छु।’

धामीले आफूले जित हात पारे सुकुम्बासी समस्या, बाढीको समस्या, शिक्षा, स्वास्थ्य र रोजगारको समस्या समाधान गर्ने बताए। 

यस्तो छ स्थानीय तहको अंकगणित 
२०७४ को प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए। प्रदेशतर्फ माओवादी केन्द्रका महेशदत्त जोशी १७ हजार ६ सय ७२ मत ल्याएर विजयी हुँदा कांग्रेसका पुष्करनाथ ओझाले १२ हजार ४ सय ६२ मत पाएका थिए । प्रदेश ‘ख’तर्फ एमालेका लालबहादुर सिंह खड्काले कांग्रेसका बहादुरसिंह थापालाई पराजित गर्दै जित हात पारेका थिए। 

यसपालि बहादुरसिंह थापा प्रदेश ‘ख’बाट प्रदेशसभा उम्मेदवारमा दोहोरिएका छन्। उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार कृपाराम राना रहेका छन्। 

त्यसैगरी क्षेत्र–२ ‘क’बाट सत्ता गठबन्धनबाट माओवादीका ओमविक्रम भाट र प्रतिद्वन्द्वीका रूपमा एमालेका बचन सिंह चुनावी मैदानमा छन्। 

गत स्थानीय तह चुनावको नतिजा हेर्दा कृष्णपुर, शुक्लाफाँटा र वेदकोट नगरपालिका मिलेर भनेको २ नम्बर क्षेत्रमा कांग्रेसले दुई नगरमा मेयर जितेको थियो भने एक नगरपालिकाको मेयर एमालेले जितेको थियो।  

कृष्णपुर नगरपालिकाबाट कांग्रेसका हेमराज ओझाले १० हजार ३३४ मत ल्याई विजयी भएका थिए। उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार जोगराज चौधरीलाई २ हजार १३४ मतान्तरले पराजित गरेका थिए। पराजित जोगराज चौधरीले ८ हजार २०० मत ल्याएका  थिए। यस्तै, उपप्रमुखमा कांग्रेसकी द्रोपती राना ९ हजार ६७५ मतसहित विजयी भएकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार रमिताकुमारी रानाले ७ हजार ३१६ मत ल्याएकी थिइन्।

वेदकोट नगरपालिकामा पनि कांग्रेस उम्मेदवार भोजराज बोहराले ८ हजार ७८ मत ल्याई मेयर जितेका थिए। उनले निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सुशीला सिंहलाई ३ हजार ३३८ मतान्तरले पराजित गरेका हुन्। पराजित सिंहले ४ हजार ७४० मत ल्याएकी थिइन्। यस्तै, उपप्रमुखमा कांग्रेस उम्मेदवार तुलसीदेवी जोशी ७ हजार २५४ मतसहित विजयी भएकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार पार्वतीकुमारी भट्टले ५ हजार ७२७ मत ल्याएकी थिइन्।

शुक्लाफाँटा नगरपालिका प्रमुखमा एमाले उम्मेदवार रणबहादुर महरा ६ हजार ७७३ मत ल्याई विजयी भएका थिए। उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार चिन्तामणि भट्टलाई ५०९ मतान्तरले पराजित गरेका थिए। पराजित चिन्तामणिले ६ हजार २६४ मत ल्याएका थिए। यस्तै, उपप्रमुखमा कांग्रेसकी उम्मेदवार कल्पनाकुमारी जोशी ६ हजार ५१९ मतसहित विजयी भएकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकममपा एसका उम्मेदवार माधवप्रसाद पन्तले ५ हजार ३६० मत ल्याएका थिए। नगरमा कांगे्रसले दुई मेयर, तीन उपमेयर जितेको थियो। 

वडाको अंकगणित 
कञ्चनपुर–२ मा कृष्णपुर नगरपालिकामा ९ वडा छन्।  गत स्थानीय तह चुनावमा कांग्रेसले ४, नेकपा माओवादीले ४ र नेकपा एमालेले एक वडा जितेको छ। 

वेदकोट नगरपालिकाकामा १० वडा छन्। कांग्रेसले  १, ३, ४, ५, ७ गरी ५ वटा वडा जितेको थियो। एमालेले २ र ९ गरी २ वटा वडा, माओवादीले  ६ र १० गरी २ वटा वडा र  नेकपा एसले ८ नम्बर वडामा जितेको थियो।  

शुक्लाफाँटा नगरपालिकाका १२ वडामध्ये कांग्रेसले ४, ५, ६, ९, १०, ११ वडा गरी ६ वटा वडा जितेको थियो। एमालेले १, २, ७ गरी ३ वटा वडा, माओवादीले ३ र ८ गरी २ वटा वडा, नेकपा एसले १२ नम्बर वडामा मात्र जित निकालेको थियो। 

यसरी हेर्दा क्षेत्र–२ मा कांग्रेसले १५ वटा वडामा जित हासिल गरेको थियो। एमालेले ६ वटा वडा, माओवादीले ८ वटा वडा र एकीकृत समाजवादीले जम्मा २ वटा वडा जितेको थियो। गठबन्धनको जोड्ने हो भने ३१ वटा वडामध्ये गठबन्धनले २५ वडा जित हात पारेको छ भने ६ वटा वडामा एमालले जितेको छ। 

स्थानीय तहको मत परिणामअनुसार कञ्चनपुरको क्षेत्र–२ मा कांग्रेस उम्मेदवार एनपी साउदलाई जित निकाल्न सहज देखिन्छ। सत्तारुढ गठबन्धनका कारण एनपीले लाभ लिन सक्ने आधार बनेको छ। नेकपा विभाजनको असर एमाले उम्मेदवार नरबहादुर धामीलाई पर्ने देखिन्छ। यो क्षेत्रमा एमाले तालमेलबिनै चुनावी मैदानमा छ। 

एमालेभित्र टिकट बाँडफाँटमा समेत विभेद भएकाले धामीले जित  निकाल्न थप मिहिनेत गर्नुपर्ने देखिन्छ। धामी बागी उम्मेदवारलाई मनाएर अगाडि बढ्ने योजना रहेको बताउँछन्। भन्छन्, ‘टिकट नपाएको भन्दै कतिले पार्टी छाड्ने, कतिले बागी उठ्ने गरे पनि हामी सँगसँगै छौं। उहाँहरूले मलाई नै जिताउनुहुनेछ।’

चुनावमा बागी उम्मेदवार, पार्टीभित्रको आन्तरिक कलह, संसद् विघटन, पाँच वर्षको कार्यकालमा संसद् हुँदा धामीले गर्न नसकेका कामहरु, नेताहरुको असन्तुष्टि, एमाले छाड्नेहरुको लहरलगायतका कुराहरुले धामीलाई यसपटक सकस पर्ने देखिन्छ। दुबै उम्मेदवारले अबको केही दिनमा पार्टी भित्र र बाहिर गर्नसक्ने व्यवस्थापन र मतदाताको विश्वास नै उनीहरुको जित–हारको यात्रा तय गर्नेछन्। 

प्रकाशित: Oct 22, 2022| 07:39 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...