शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कैलाली ५ : राणालाई हराएका रानामाथि पन्त पर्लान् भारी?

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन र अधिकांश वडामा कांग्रेस उम्मेदवार विजयी भए पनि कांग्रेस प्रत्यासी डिल्लीराज पन्तलाई कांग्रेसकै बागीहरूले चुनौती थपिदिएका छन्। एमाले उम्मेदवार नारदमुनि राना कांग्रेस फुटको लाभ लिने दाउमा छन्।
 |  शुक्रबार, कात्तिक ४, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं- कैलाली क्षेत्र– ५ मा कांग्रेस उम्मेदवार आरजु देउवा राणा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले नेता नारदमुनि रानासँग पराजित भएकी थिइन्। रानाले २७ हजार २०२ मत ल्याउँदा राणाले २२ हजार ३२२ मत पाएकी थिइन्। रानाले राणालाई ४ हजार ८८० मतले पराजित गरेका थिए।

triton college

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा यस पटक पनि एमालेले पुरानै उम्मेदवारलाई दोहोर्‍याएको छ। तर कांग्रेसबाट भने गत वर्ष क्षेत्र–५(ख) बाट प्रदेशसभामा निर्वाचित सांसद डिल्लीराज पन्त उम्मेदवार बनेका छन्। यस पटक पनि कांग्रेसबाट आरजु राणा देउवा लड्ने चर्चा रहे पनि अन्तिम समय उनी समानुपातिकमा बसेकी थिइन्। त्यसपछि कांग्रेसबाट एकाएक डिल्लीराज पन्तले टिकट पाएका हुन्।

कैलाली क्षेत्र–५ सधैं चर्चामा रहने क्षेत्र हो। सुदूरपश्चिमको अस्थायी राजधानीसमेत रहेको धनगढी बेला–बेला विभिन्न कारणले चर्चामा रहने गर्छ। यस पटक कांग्रेसबाट कारबाहीमा परेका पुष्करनाथ ओझा संघ र कांग्रेसकै क्षितिज भण्डारी कैलाली-५ प्रदेश (ख)मा बागी उठेका छन्। यसको ठूलो चुनौती पन्तलाई पर्ने देखिन्छ। धनगढी उपमहानगरमा १९ वडा रहेका छन्। स्थानीय तह निर्वाचनमा १९ वडामध्ये कांग्रेसले ११, एमालेले ६ र माओवादी केन्द्रले २ वडा जितेको छ। तर मेयरमा भने स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका थिए।

स्थानीय तहमा यस पटक सत्ता गठबन्धन र अधिकांश वडामा कांग्रेस उम्मेदवार विजयी भएकाले कांग्रेस प्रत्यासी डिल्लीराज पन्त बलियो उम्मेदवार रहे पनि उनलाई कांग्रेसकै बागीहरूले चुनौती थपिदिएका छन्। ओझा र भण्डारीले कांग्रेसका भोट काटे त्यसको प्रत्यक्ष लाभ एमाले उम्मेदवार रानाले पाउनेछन्। राना सोही दाउमा रहे पनि पन्त आफू कमजोर नरहेको बताउँछन्।

पन्त कांग्रेस कैलालीका पुराना नेता हुन्। नेपाल विद्यार्थी संघ कैलालीका संस्थापक अध्यक्षसमेत रहेका पन्त आफू सबै कार्यकतासँग मिलनसार भएकाले चुनाव जित्नेमा ढुक्क छन्। ‘म जनप्रिय पार्टीको उम्मेदवार भएकाले पहिलो जित्ने आधार हो। अर्को कुरा, मेरो पारिवारिक र व्यक्तिगत पृष्ठभूमि पनि कांग्रेससँग निकै लामो छ। मैले विगत पाँच वर्ष कैलाली–५ (ख) बाट निर्वाचित हुँदा इमानदारीपूर्वक काम गरेको छु,’ उनले भने।

Metro Mart
vianet

पन्तका बुबा चेतराज पन्त पनि कांग्रेस कैलालीका संस्थापक सदस्य हुन्। ‘मेरो बुबा २००६ को कांग्रेसको सदस्य हुनुहुन्थ्यो। २००७ मा कञ्चनपुरको बेलौरी र बर्मदेवमा भएका आन्दोलनमा उहाँको अग्रणी भूमिका रह्यो। २००७ देखि २०१७ सम्म उहाँ डोटी र कैलालीमा सक्रिय रहनुभयो’, उनले भने, ‘यसरी हामी कांग्रेसको राजनीतिमा सुरुआती दिनदेखि नै सक्रिय छौं। म आफैं पनि १ पुस २०३१ मा गिरफ्तार भएर ६ महिना जेल जीवन बिताएको व्यक्ति हुँ। २०३७ मा मेरै अध्यक्षतामा नेपाल विद्यार्थी संघ कैलालीको स्थापना भएको हो। यसरी सुरुआती दिनदेखि म सक्रिय तर लाभबिनाको राजनीतिमा छु।’

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन र अधिकांश वडामा कांग्रेस उम्मेदवार विजयी भए पनि कांग्रेस प्रत्यासी डिल्लीराज पन्तलाई कांग्रेसकै बागीहरूले चुनौती थपिदिएका छन्। एमाले उम्मेदवार नारदमुनि राना कांग्रेस फुटको लाभ लिने दाउमा छन्।

आफूले कहिले पनि जनतासँग झुट नबोलेको उनी बताउँछन्। मत प्राप्तिका लागि जनतालाई झुटा सपना बाँड्नु राजनीतिक बेइमानी हुने उनी बताउँछन्। राजनीति जनताको सेवाभावका साथ गरिने हुँदा आफूले सक्ने कुरा मात्रै गर्दै आएकाले पनि लामो राजनीतिक जीवनमा निर्विवादित रहेको उनी बताउँछन्।

‘सेती प्रादेशिक अस्पताललाई आधुनिक बनाउने मेरो पहिलो सपना छ। धनगढी एयरपोर्टलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन नसकिए पनि क्षेत्रीय स्तरको बनाउन पहल गर्नेछु। गेटा मेडिकल कलेजलाई चाँडो सञ्चालनका लागि पहल गर्ने, गौरीफन्टा नाकाको स्तरोन्नति गर्दै आयात–निर्यात सहज बताउने योजना छ। सुदूरपश्चिममा प्रादेशिक विश्वविद्यालय स्थापनाको कल्पना गरेको छु। मलखादका लागि कैलालीमा एउटा उद्योग खोल्न पहल गर्नेछु,’ उनले भने। 

एमाले उम्मेदवार राना भने पार्टीले देशभर विकास र समृद्धिका एजेन्डा बोकेकाले जित्नेमा आफू विश्वस्त रहेको बताउँछन्। विकास र समृद्धिबिना जनतालाई खुसी दिन नसकिने र त्यो अभिभारा पूरा गर्ने एक मात्र पार्टी एमाले भएको उनको दाबी छ। ‘कुर्सीका लागि मुलुकले जुनसुकै अवस्था चुकाउनुपरे पनि सत्ता गठबन्धन पछि हट्ने अवस्थामा देखिएन। यो कुरा जनताले बुझेका छन्। भूमि फिर्ता ल्याएर चुच्चे नक्सा प्रकाशन गर्ने सवालमा होस् वा पारवहन सन्धि गरेको कुरा होस्। एमाले सधैं अडिग रहेको छ। त्यसैले जनता अलमलिने पक्षमा छैनन्,’ उनले भने। देशभरझैं कैलाली–५ मा पनि गठबन्धन गरेर एमालेलाई घेराबन्दीमा पार्ने काम भइरहेको उनले आरोप लगाए।

गठबन्धनसँग कुनै एजेन्डा र मुद्दा नभएकाले आफ्नो जित सुनिश्चित रहेको उनले बताए। ‘पाँच वर्षमा वर्षौंदेखि अलपत्र अवस्थाको धनगढी–खुटिया–दिपायल सडक थियो। त्यहीँ बाटो भएर मन्त्री र प्रधानमन्त्री दौडिए पनि यसको दुरावस्थाले छोएन। निर्वाचित भइसकेपछि मैले बाटो अनुगमन गरेर स्तरोन्नति सुरु गरें,’ उनले भने। धनगढीबासीले गर्व गर्ने धनगढी बढाउन आफू सधैं प्रयासरत रहेको  रानाको जिकिर छ। सदनमा आवाज उठाएकै कारण क्याम्पस चोकबाट चार लेनको चौडा हुलाकी सडक फूलबारीसम्म निर्माणाधीन रहेको र यो भजनीसम्म बन्ने उनले बताए।

सहिदगेटदेखि क्याम्पस चोकसम्मको बाटो पनि आफ्नै पालामा बनेको रानाले बताए। ‘जडीबुटी प्रशोधन केन्द्र १५ नम्बर वडामा स्थापना भएको छ। कोल्ड स्टोर १८ नम्बर वडामा स्थापना भयो। सिटी हल वडा–८ मा स्थापना भयो। ज्येष्ठ नागरिक भवना १४ नम्बर वडामा बनायौं। सघन सहरी कार्यक्रमको काम भइरहेको छ’, उनले भने।

धनगढीलाई मेगासिटीको रुपमा विकास गर्नुपर्छ भन्ने उद्देश्यका साथ जग बसाल्ने काम भएको उनको दाबी छ। धनगढीका स्थानीय एवं राजनीतिक विश्लेषक कैलाली–५ मा स्वतन्त्र उम्मेदवार पनि कम बलियो नरहेको बताउँछन्। ‘अहिलेसम्म हेर्ने हो भने स्वतन्त्रको पनि बलियो माहाल देखिन्छ। राजनीतिक दलहरूसँग रुष्टहरूले स्वतन्त्रलाई नै रोज्ने देखिन्छ’, उनले नाम नबताउने  सर्तमा भने।

प्रकाशित: Oct 21, 2022| 07:34 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...