काठमाडौं- २०४८ सालयता दार्चुलामा कांग्रेसको राजनीति आफ्नो वरिपरि घुमाउन सफल नेता दिलेन्द्रप्रसाद बडू पाँचौंपटक प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार छन्। ०७४ मा समानुपातिक बसेका उनको यो छैटौं प्रयास हो। ०४८ मा निर्वाचित भई पहिलोपटक संसद् छिरेका उनी ०५१, ०६४ र ०७० का आम निर्वाचनमा पराजित भएका थिए। निरन्तर दुईपटक पराजित भइसकेपछि अघिल्लोपटक उनले समानुपातिकमा सिट सुरक्षित गरेका थिए।
०४८ मा दार्चुला १ बाट निर्वाचित भएका बडूलाई ०५१ को मध्यावधि चुनावमा एमालेका प्रेमसिंह धामीले पराजित गरेका थिए। त्यसपछि ०५६ को निर्वाचनमा एमालेका वीरबहादुर ठगुन्नालाई हराएर बडू दोस्रोपटक संसद् छिरेका थिए। त्यसयता कम्युनिष्ट गढ बनेको दार्चुलामा कांग्रेसले विजयोत्सव मनाउन पाएको छैन। तर, यसपटक पुनः बडू हारको ‘ह्याट्रिक’ अर्थात ०७४ पछि एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवारका रुपमा मैदानमा उत्रिएका छन्।
बडूलाई काउन्टर दिइरहेका छन्, निर्वतमान सांसद गणेशप्रसाद ठगुन्ना। ठगुन्ना र बडू दार्चुलामा तेस्रोपटक आमनेसमाने हुन लागेका हुन्। ०६४ को पहिलो संविधानसभा निर्वाचनमा ठगुन्ना र बडूलाई नेकपा माओवादी केन्द्रका लक्ष्मणदत्त जोशीले पराजित गरेका थिए। तर त्यसपछिका दुवै निर्वाचनमा ठगुन्नाले जित निकाल्दा बडू ०७० मा पराजित भएपछि ०७४ मा प्रत्यक्षमा उठेका थिएनन्।
समानुपातिकबाट सांसद भएका बडू गठबन्धनको सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुन्। ०७४ मा ५ हजारभन्दा बढी मतान्तरले कांग्रेसका विक्रमसिंह धामीलाई पराजित गरेका ठगुन्ना केपी ओली सरकारमा संघीय, मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका थिए। दार्चुलाबाट प्रतिनिधिसभा निर्वाचनका लागि २१ मनोनयन दर्ता भएकोमा आगामी मंसिर ४ मा हुने निर्वाचनमा यी दुई हेभिवेटबीच नै मुख्य प्रतिस्पर्धा हुने निश्चितप्रायः देखिएको छ।
पञ्चायतकालीन एजेण्डाकै भर
०४८ र ५६ मा निर्वाचित भएका तथा ०७४ मा समानुपातिकबाट सांसद भएका बडू र ०७० देखि निरन्तर दुईपटक विजयी भएका ठगुन्ना दुवैलाई यस क्षेत्रमा आफ्ना घोषणापत्रअनुसार कामै नगरेको आरोप लाग्दै आएको छ। पञ्चायतकालीन समय ०४५ सालमा दार्चुलाको हालको अपिहिमाल गाउँपालिकास्थित खण्डेश्वरीमा एयरपोर्ट बनाउने एजेण्डा अघि सारिएको थियो। त्यही एजेण्डाको फेँद समात्दै बडूले ०४८ को निर्वाचनमै उक्त एयरपोर्ट बनाउने प्रमुख एजेण्डा आफ्नो घोषणापत्रमा राखेका थिए। तर, बडू पटकपटक गरी १५ वर्ष सांसद भइसक्दा पनि हालसम्म पनि उक्त एयरपोर्टको काम अघि बढेको छैन।
बडूलाई माओवादीको भर
यसपटक चुनाव जितेमा बडूले जितमा ह्याट्रिक गर्नेछन्, तर हारेमा हारको ह्याट्रिक नाघ्नेछ। तर, कांग्रेस एक्लैको भरमा चुनाव जित्न उनलाई हम्मे पर्नेछ, उनलाई माओवादीबाट धोका भएन भने चाहिँ जित सहज हुनसक्छ। एक मात्र चुनाव क्षेत्र रहेको दार्चुला ०६४ यता बलियोसँग कम्युनिष्टगढका रुपमा स्थापित यो क्षेत्रमा लालकिल्ला भत्काउन कम्युनिष्टकै भर पर्नैपर्ने देखिन्छ।
आफूलाई विकासवादी नेता भने प्रचारप्रसार गरिरहेका उनलाई आफूले वाचा गरेका काम अघि नबढाएको आरोप यहाँ लाग्ने गरेको छ। यसैगरी ठगुन्नालाई पनि सोही आरोप दार्चुलामा लाग्ने गरेको छ। ठगुन्नाले ०७० मा दार्चुलाका ४१ वटै वडामा सडक संरचना पुर्याउने, गोकुलेश्वरमा काम अघि बढेको एयरपोर्ट तीन वर्षभित्र सञ्चालन गर्ने, एम्बुलेन्स सेवा पुर्याउने लगायतका बुँदागत घोषणापत्र बनाएकोमा ती घोषणा पूरा गर्न सकेका छैनन्।
स्थानीय संरचनाअनुसार निर्माण भएका केही बाटा र पुलहरु भने आफूले बनाएको भन्दै ठगुन्ना र बडू दुवैले दाबी गर्न छाडेका छैनन्। मनोनयन दर्ता गराएर दुवैले जिल्लामा प्रचारप्रसार सुरु गरेतापनि घोषणापत्र भने बनिसकेको छैन। तथापि, जिल्लामा बडूले आफूले जिते भौतिक पूर्वाधार निर्माण गर्ने प्रचार सुरु गरेका छन्। यता ठगुन्नाले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको चुच्चे नक्सालाई प्रमुख नाराका साथ चुनावी प्रचार गरिरहेका छन्। स्थानीयकाअनुसार आफ्ना घोषणापत्रअनुसार काम नहुनुमा दुवैले एकअर्कालाई दोष दिने गरेका छन्।
माओवादी र एमालेको राम्रो पकड रहेको दार्चुलामा ९ पालिका छन्। स्थानीय निर्वाचनको मतपरिणाम हेर्दा यस क्षेत्रमा ५ पालिका एमाले जित्दा ४ पालिकामा माओवादीले जित निकालेको छ। शैल्यशिखर र महाकाली नगरपालिका तथा मालिकार्जुन, दुहुँ र ब्यास गाउँपालिकामा एमालेले जित निकाल्दा माओवादीले अपिहिमाल, लेकम, नौगाड र मार्मा गाउँपालिका जितेको छ।
०७४ मा कांग्रेसले दार्चुलाका ९ मध्ये ५ पालिका जितेको थियो। तर तिनै पालिका प्रमुख ०७९ मा उम्मेदवारका रुपमा दोहोरिएपछि त्यहाँका जनताले पालिकामा कांग्रेसलाई नील गरिदिएका थिए। माओवादीले भने आफूले पाएका ४ वटै पालिकामा जित निकालेको थियो।
वडाको नतिजा हेर्दा ६४ मध्ये ३४ वडा एमाले एक्लैले जितेको छ। सत्ता गठबन्धनले एमालेभन्दा ७ वडा कम जितेको छ। कांग्रेसले १७ र माओवादीले १० वडा जित्दा गठबन्धनको भागमा २७ वडा मात्रै परेको थियो। स्थानीय निर्वाचनमा वडाअध्यक्षले पाएको मतपरिणाम हेर्दा गठबन्धनलाई एमालेले कडा चुनौती दिएको थियो। यहाँ गठबन्धन गरेर गएका कांग्रेस-माओवादीको र एक्लै चुनाव लडेको एमालेले पाएको हेर्दा ३८ मतको मात्रै झिनो अन्तर थियो। कांग्रेसको २१ हजार ५५४ र माओवादीको ७ हजार ८८१ मतसहित गठबन्धनले २९ हजार ४३५ मत पाउँदा एमाले एक्लैले २९ हजार ३९७ मत ल्याएको थियो। जसकारण ठगुन्नासँग ०७० को बदला लिएर।