बुधबार, असार ४, २०८२

रेस्टुराँ कल्चर- 'चिल आउट' देखि ‘नाइट आउट’सम्म

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौं- एक समय थियो, समोसा, पकौडा र निम्कीमा रमाउँथे, बालबालिकादेखि वृद्धवृद्धासम्म। विस्तारै मःम पाक्ने रेस्टुराँहरूमा भीड बढ्यो। अहिले त साता या महिनामा एक पटक घरको भान्साबाहिर पाकेका परिकारमा रमाउने ‘रेस्टुराँ संस्कृति’ले जरा गाडेको छ।

पहिले होटेलको अर्थ मःम, चाउमिन र सवारी चालकहरूले खाना-खाजा खाने ठाउँका रूपमा मात्र बुझिन्थ्यो। स्तरीय रेस्टुराँहरू विदेशीका लागि थिए। तर, अहिलेको पिँढीमा यसले संस्कृतिकै रूप लिएको छ।

कृषिप्रधान मुलुक भएकाले पहिले खेतमै खाजा र खानाको व्यवस्था हुन्थ्यो। विस्तारै पाटी-पौवाहरूमा बारा, रोटी र मासुका परिकार पाइन थाले। अहिलेको रेस्टुराँ संस्कृति त्यसैको परिष्कृत रूप हो। बिहानको खानाबाट शुरु हुने व्यस्त दैनिकीमा रेस्टुराँहरू अनिवार्यझैं बनेका छन्। छोटो फुर्सदमा फास्ट फुड। रेस्टुराँ संस्कृतिको अभिन्न अंग बन्न थालेका छन्, फास्ट फुडहरू। अनि, स्वस्थकर फास्ट फुड खोज्ने क्रममा महँगा रेस्टुराँ खोज्ने प्रवृत्ति विकसित भयो।



‘बर्थडे पार्टी’ होस् वा ‘चिल आउट’ या ‘फेमिली गेट टुगेदर’ अनि ‘विकेन्ड’। सबैखाले योजनाका गन्तव्य बनेका छन्, रेस्टुराँहरू। र, यो संस्कृतिले सोखको रूप पनि पाएको छ। अहिले त चाडपर्व मनाउने थलो पनि बनेका छन्, रेस्टुराँहरू।

काठमाडौंका दरबारमार्ग, लाजिम्पाट, ठमेल, बानेश्वर, झम्सिखेलजस्ता क्षेत्रहरू ‘कोर पोइन्ट’ हुन्, यसका लागि।

२०४६ सालको परिवर्तन अघिसम्म नेवारी र थकाली भान्छा घरहरू हुने गर्थे। मदिराको व्यापार कमै स्थानमा मात्र हुन्थ्यो। त्यसयता हुर्किएको रेस्टुराँ संस्कृतिले डिलक्स रेस्टुराँ र बारहरूसम्म ल्याइसकेको छ।

 एउटा जनश्रुती छ- नेपालीले मेनु पल्टाउँछन् अनि मःम र चाउमिन अर्डर गर्छन्। हुन पनि, धेरैको रोजाई मःम, चाउमिन, चिकेन तन्दुरी, नान रोटी, छोयला र मासुका परिकार नै पर्छन्।


‘दी बेकरी क्याफे’का निर्देशक सुनिल कायस्थका अनुसार उनले व्यवसाय शुरू गर्दा हातमा गन्न सकिने रेस्टुराँ मात्र थिए। त्यस्तो बेलामा यस व्यवसायमा प्रवेश गरेर यहाँसम्म आइपुगेकामा उनी दंग छन्।

उनको बुझाइमा रेस्टुराँहरू ‘दोस्रो भान्छा घर’ बनिसकेका छन्। दैनिक घरको भान्छामा पाक्नेभन्दा फरक स्वाद पाउन रेस्टुराँहरू विकल्प बनेका छन्। अनि, छोटो विश्राम र थकान भुलाउन रेस्टुराँ उपयुक्त थलो पनि।


यस्तै, सपिङ मलहरू खोल्ने होडसँगै त्यस्ता सपिङ गन्तव्यनजिक रेस्टुराँ पनि बढेका छन्। सपिङपछि टाढा गएर खाजा खानुभन्दा मलमै रहेका रेस्टुराँ रोजाइमा पर्छन्।

प्रतिस्पर्धात्मक जमानामा युवा पुस्ताको काम गर्ने शैली गजबको छ, ‘वर्क प्लस फन’। त्यसैका लागि रेस्टुराँहरूमा भेला हुन्छन्, युवा-युवती। साताभरको थकानलाई सप्ताहान्तमा ‘चिल आउट’मा रम्ने विषय अब नौलो लाग्न छाडेको छ। परिवारले सधैं घरमै खाना बनाउने, खाने र भाँडा माझ्नुपर्ने झण्झटबाट मुक्त भएर एक दिन भए पनि रेस्टुराँमा खर्च गर्ने संस्कार विकसित हुन थालेको छ।

रेस्टुराँ एन्ड बार एसोसियसन नेपाल (रेबान)का अध्यक्ष प्रमोदकुमार जयसवालले व्यवसाय शुरु गर्दा माग धान्न धौ धौ थियो। अहिले काठमाडौंमै दुई हजार नाघिसकेका छन्, राम्रा रेस्टुराँ। त्यसमा स्तरीय बार र पबहरू पनि पर्छन्। जयसवाल भन्छन्, ‘अहिले त मागभन्दा आपूर्ति बढी भएको छ। पहिले रेस्टुराँ कम हुन्थे, माग बढी। अहिले रेस्टुराँ बढी छन्, माग त्यसको तुलनामा कम।’ एउटै रेस्टुराँलाई ‘चेन’को रूपमा विकास गर्ने शैली बढेको रेबानका सचिव राम गुरुङ बताउँछन्।

गच्छेअनुसारका गन्तव्य

राम्रा रेस्टुराँमा दुई सय रुपैयाँदेखि शुरु हुन्छ, परिकारको मूल्य। आफ्नो आर्थिक हैसियतअनुसार सस्ता र महँगा रेस्टुराँ रोजाइमा पर्छन्। जतिबेलासम्म पछिल्लो संस्कृतिले झाँगिने अवसर पाएको थिएन, बिहानको खानापछि एकै पटक साँझको खानाबाट मात्र भोक मार्ने चलन थियो। अहिले भने अपरान्हको खाजा र साँझको ‘नाइट आउट’ दिनचर्याकै अंग बन्न थालेका छन्।

अझ, त्यसमा ‘लाइभ म्युजिक’ र ‘बार बी क्यु’ अनिवार्यझैं बनेका छन्। ‘फ्राइडे ग्रिल एन्ड बार’मा सप्ताहन्तका शुक्रबार र शनिबार विशेष भीड लाग्ने गरेको सुपरभाइजर विवेक डंगोल बताउँछन्।

युवा-युवतीलाई केन्द्रित गरेर क्लबहरू पनि खुलिरहेका छन्। काठमाडौंका क्लबहरूले पारिवारिक माहोल पनि दिने प्रयास गरिरहेका छन्। शान्त र सौहाद्र्रपूर्ण वातावरणमा सेवा दिने गर्छन्, यस्ता क्लबहरूले। शनिबारको बिदामा भने यस्ता क्लबहरूमा युवा-युवतीकै जमघट बाक्लो हुने गर्छ।

फोटोग्राफीको बढ्दो सोखका कारण यसअघि घरपरिवारमै रमाउने महिलाहरूलाई रेस्टुराँतिर तान्न थालेको एला रेस्टुराँ एन्ड लन्जका मार्केटिङ निर्देशक निरेश शाही बताउँछन्। उनको रेस्टुराँमा सोमबार र मंगलबारसम्म केही सुनसान हुने गर्छ। शनिबार भने अढाइ सय जनासम्मको जमघट हुन्छ। ‘एक्जिक्युटिभ मिटिङ’ पनि स्तरीय रेस्टुराँहरूमा हुन थालेको शाही बताउँछन्।

शुरुवाती चरणमा भारतीय र पश्चिमा मुलुकका परिकार मात्र पस्किने गरिन्थ्यो, रेस्टुराँहरूमा। पछिल्ला दिनमा चिनियाँ परिकारहरू बढेका छन्। कुपन्डोलको ‘टिमुर’ले भने भारतीय र चिनियाँ दुवै परिकार पस्किने गरेको छ। पीरोका सोखिनहरू भारतीय परिकार रुचाउँछन् भने तातो मन पराउनेहरूको रोजाइमा चिनियाँ परिकार पर्छन्।
 

व्यस्त दैनिकीमा रेस्टुराँहरू अनिवार्यझैं बनेका छन्। छोटो फुर्सदमा फास्ट फुड। रेस्टुराँ संस्कृतिको अभिन्न अंग बन्न थालेका छन्। अनि, स्वस्थकर फास्ट फुड खोज्ने क्रममा महँगा रेस्टुराँ खोज्ने प्रवृत्ति विकसित भयो।


बानेश्वरस्थित ‘सेकेन्ड होम रेस्ट्रो’मा सामान्य ग्राहक आउने गरेका छन्। उक्त रेस्टुराँले एक सयदेखि एक हजार रुपैयाँसम्मका परिकार पस्किन्छ। त्यहाँ पनि शुक्रबार र शनिबार विशेष भीड देखिन्छ। कलेज ड्रेसमा आउने विद्यार्थीलाई छुट दिने गरेको छ।

‘एला रेस्टुराँ एन्ड लन्ज’ले काठमाडौंका रैथानेहरूलाई ‘टार्गेट’ गरेको छ। ‘कन्टिनेन्टल’, ‘चाइनिज’का साथमा ‘ओरिएन्टल’ डिसेस उक्त रेस्टुराँमा पाइन्छन्। विदेशीहरूको रोजाइ भने नेपाली खाना हुने गर्छ।

यस्तै, ‘दी लास्ट फ्राइडे ग्रिल’ले आफ्नो विशेष परिकार बनाएको छ, झोल मःमलाई। त्यहाँ पाइने झोल मःमको मूल्य दुई सय ५० देखि एक हजार ५० सम्म छ।

दरबारमार्गको ‘दी ओल्ड हाउस’मा भने कूटनीतिक अधिकारी र दिग्गजहरू जम्मा हुन्छन्। पछिल्ला दिनमा युवा-युवतीले ‘नाइट आउट’ का लागि पनि यसलाई रोज्न थालेका छन्।

सेलिब्रेटीको सोख

गायक दीपक बज्राचार्य मेक्सिकन, भितनामी र ‘थाई’ परिकारका सोखिन हुन्। तर, उनलाई नेवारी परिकारको स्वाद लिँदै नेवारी परिकारमा रमाउनुजस्तो मज्जा केही लाग्दैन। नेवारी खानाको तलतल लागे कीर्तिपुरस्थित ‘सस ‘लहाना’ पुग्छन्। ‘कन्टिनेन्टल’लगायत परिकारका लागि भने झम्सिखेल जाने गरेका छन्। परिवारसँग समय बिताउनुपरे ‘क्लब हिमालय’ रोज्छन्।

चलचित्र ‘पशुपतिप्रसाद’का ‘भस्मे डन’ अर्थात् विपिन कार्की नेपाली खानाका सोखिन हुन्। अझ, थकाली खाना भनेपछि हुरुक्कै हुन्छन्। त्यसबाहेकका खानाबाट उनको मन भरिँदैन रे। दरबारमार्ग र झम्सिखेल उनी गइरहने ‘खाना गन्तव्य’ हुन्।


एउटा जनश्रुती छ- नेपालीले मेनु पल्टाउँछन् अनि मःम र चाउमिन अर्डर गर्छन्। हुन पनि, धेरैको रोजाई मःम, चाउमिन, चिकेन तन्दुरी, नान रोटी, छोयला र मासुका परिकार नै पर्छन्। पछिल्ला दिनमा थाई, मेक्सिकन, स्पेनिस, भियतनामी परिकार पनि काठमाडौंमा पाइन थालेका छन्। तर, ती चाख्ने उद्देश्यका मात्र देखिएका छन्।

पछिल्लो समयमा रेस्टुराँहरू र तिनमा जाने संस्कृतिको वृद्धिलाई रेबानका अध्यक्ष जयसवाल अस्वाभाविक मान्छन्। बिनादर्ता व्यवसाय खोल्ने प्रवृत्तिले भविष्यमा व्यवसायलाई नै धरापमा पार्ने उनको चिन्ता देखिन्छ। पदमश्री कलेजमा बीएचएम अध्ययनरत शैलेन्द्र श्रेष्ठ भने नेपालमा रेस्टुराँ संस्कृति अझ झाँगिने सम्भावना देख्छन्।

बाहिर ३५ रुपैयाँमा पाइने कोकको ६० देखि ९० सम्म, तीन सयमा पाइने बियर नौ सय र एक हजारसम्म। अधिकांश रेस्टुराँको मूल्यसूची यस्तै छ। चर्को मूल्य असुल्न पाइने भएकाले रेस्टुराँ खोल्नेहरू पनि बढेका छन्। तर, रेस्टुराँभित्र व्यवस्थापन गर्नुपर्ने भित्री ज्ञान नहुँदा भने धेरै व्यवसायी धरापमा परेको पाइन्छ।

‘अ मिड मिल डज नट मेक अ डे भनेझैं खाजा दैनिक एउटै खाइँदैन,’ एक व्यवसायी भन्छन्, ‘सोही कारण रेस्टुराँ व्यवसायीले यस क्षेत्रको बाहिरी अवस्था देखेर लगानी गर्नुपूर्व सोच्नुपर्छ। तलाउको गहिराइ दुवै खुट्टाले नाप्न हुन्न भन्ने उक्ति सदैव मनन गर्नुपर्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।