आइतबार, पुस १३, २०८२

एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै

 |  मंगलबार, असार ३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३, २०८२

म्याग्दी- यहाँको बेनी नगरपालिका–१ अर्जममा १५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ। जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा विसं १९२५ मा निर्माण भएको नहर पक्की बनाउन योजना सञ्चालन गरेको हो। साबिक रत्नेचौर गाविसको यो सिँचाइ आयोजनाको नाम ‘पच्चिस साले सिँचाइ योजना’ राखिएको छ। 

National life

उपभोक्ता समितिका सचिव नरबहादुर थापाले कच्ची नहरमा पानीको चुहावट र जमिन भासिने समस्या भएपछि वर्षौंको प्रयासपछि पक्की निर्माण गरी पाइपलाइन जडान गर्न थालिएको जानकारी दिए। 

“कच्ची नहरमा मुहानबाट पठाएको पानी चुहिएर पुछारको खेतमा पुर्याउन नसक्ने अवस्था थियो,” उनले भने, “गण्डकी प्रदेश सरकारले पक्की नहर र पाइप जडान गर्ने योजना सञ्चालन गरेपछि उत्साही भएका छौँ।”

चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन भएको योजनाबाट दुईवटा च्याम्बर र १२५ मिटर पक्की नहर निर्माण भएको उपभोक्ता समितिका सदस्य चेतन थापाले बताउनुभयो। उहाँका अनुसार पहिरो र जमिन भासिने समस्या भएको ठाउँमा आजदेखि १६८ मिटर लामो २५० मिलिलिटर क्षमताको पाइप जडान गर्न थालिएको छ। 

यसअघि विसं २०५१र५२ मा कामका लागि खाद्यान्न कार्यक्रममार्फत मर्मत भएको नहर जीर्ण बनेको थियो। बेनी नगरपालिका र स्थानीयवासीको साझेदारीमा मुहान निर्माण भएको छ। यो योजनाबाट १८० कृषकको २१९ रोपनी जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर थापामगरले बताए। 

Laxmi sunrise bank
kumari

आयोजना निर्माणलाई निरन्तरता दिन कार्यालयले रु ५० लाख लागत अनुमानसहित विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ। थप एक किलोमिटर नहर निर्माण र पाइपलाइन जडान गर्नुपर्ने उपभोक्ता समिति सदस्य थापाले बताउनुभयो। सिँचाइ सुविधा सहज भएमा खेतमा तीन बाली लगाउन, व्यावसायिक बेमौसमी तरकारीखेती गरेर आयआर्जन गर्न सकिने उनको भनाइ छ। 

महत्वपूर्ण र आवश्यक योजना भएकाले जनप्रतिनिधिहरुसँग समन्वय गरेर क्रमागत योजनामा समावेश गराउन प्रस्ताव गरेको जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका प्रमुख, सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले जानकारी दिए।

प्रकाशित: Jun 17, 2025| 13:34 मंगलबार, असार ३, २०८२
प्रतिक्रिया दिनुहोस्