काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
सत्तापक्षका तर्फबाट सांसद लिला गिरीले दायर गरेको रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। गिरी एमालेका लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री हुन्। उक्त रिटको प्रारम्भिक सुनुवाइको लागि भोलि मंगलबारलाई पेशी तोकिएको छ ।
मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने र प्रदेश सभाको विशेष अधिवेशन रोक्नुपर्ने सत्तारुढ दल एमालेको माग छ। यही साउन २७ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदको हस्ताक्षरसहित साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो।