बुटवल- सत्तासिन पाँच दलीय गठबन्धनले आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कार्तिक ४ गते बुटवलमा प्रदेशस्तरीय प्रशिक्षण गर्ने भएको छ।
गठबन्धनको शनिबार बसेको बैठकले केन्द्रीय संयन्त्रले तोकेबमोजिम ४ गते बुटवलमा प्रशिक्षण कार्यक्रम गर्ने भएको हो।
प्रशिक्षणमा नेपाली कांग्रेसका सभापती एंव प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतले सम्बोधन गर्नेछन्।
निर्वाचन केन्द्रीत प्रशिक्षणमा प्रत्येक पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कमिटिका पदाधिकारीको सहभागिता रहने नेपाली कांग्रेस सभापति रामकृष्ण खाँणले जानकारी दिए।
गठबन्धनको बैठकले गठबन्धनका दलको सहभागितामा निर्वाचन परिचालन समिति गठन गरिएको नेकपा एकीकृत समाजवादीका रुपन्देही अध्यक्ष अविराम विश्वकर्माले बताए।