कञ्चनपुर- १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको प्रकरणमा सहसचिवको नेतृत्वमा गठित छानविन समितिले प्रारम्भिक अनुसन्धानमा गम्भीर त्रुटी गरेको निष्कर्ष निकालेको छ।
घटनाको विषयमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक हरिप्रसाद मैनालीले प्रहरीले अनुसन्धानको मुल विषय छोडेर घटनालार्इ मोडेको पाइएको बताए। उनले भने, 'प्रहरीले घटनालार्इ हल्का ढंगमा लिएको र प्रमाणहरु नष्ट गर्नेदेखि गर्नुपर्ने काम नगरेको र गर्न नहुने काम गरेको पनि देखियो।’
प्रहरीले घटनामा लापरबाही गर्दा घटनाले आन्दोलनको रुप लिएको छानविन समितिको निष्कर्ष छ। कञ्चनपुरमा आन्दोलन चर्किनुको पछाडि प्रहरीको दोष रहेको बताउँदै उनले भने, ‘हिजो स्थानीय त्यसै आन्दोलित भएका होइनन्। त्यसमा प्रहरीको गम्भीर त्रुटी देखिएको छ।’ मैनालीले थपे, 'प्रहरीले सचेतता अपनाएको भए दोषी पत्ता लागिसक्थ्यो।'
अनुसन्धानका क्रममा भेटिएका तथ्यहरु नयाँ अनुसन्धान टोलीलाई बुझाएको समेत उनले जानकारी दिए।
तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको कमजोरी देखिएकाले नै निलम्बन गरिएको उनले बताए। प्रारम्भिक अनुसन्धानमा संलग्न प्रहरी टोलीसँग पनि सोधपुछ गरिने मैनाललीले बताए।
हत्याको विरोधमा भएको प्रदर्शनमा समेत प्रहरीले सचेतता नअपनाउँदा घटनाले गम्भीर मोड लिएको उनले बताए। मैनालली भने, 'घटनालार्इ मोड्न आन्दोलन दबाउँदा एक जनाले ज्यान गुमाउनु परेको र ६ जना घाइते भएका हुन्। प्रहरीले सजगता अपनाउँदा उक्त घटना नहुन सक्थ्यो।'
छानविन टोली आजै काठमाडौं फर्किँदैछ। सरकारले घटनाको छानविन गर्न गृहमन्त्रालयमा सहसचवको नेतृत्वमा गठित समितिको म्याद आजै सकिने भए पनि ३/४ दिनभित्र प्रतिवेदन तयार पारेर गृह मन्त्रालयमा बुझाइने जनाइएको छ।
त्यसैगरी बिहीबार निर्मलाको परिवारलार्इ भेटेका प्रहरी प्रमुख आर्इजीपी सर्वेन्द्र खनालले शुक्रबार होटल ओपेरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घटनामा प्रहरीले गल्ती भए पनि हदैसम्मको कारबाही गरिने बताए। उनले भने, 'निलो बर्दीको आडमा गल्ती गर्ने जो कोहीलार्इ कानुनले छोड्दैन। प्रहरीले जनतालार्इ शान्ति र सुरक्षाको आभास दिलाउनु सट्टा आफैं गल्ति गर्दै हिड्न मिल्दैन।'
खनालसँगै कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य मोहना अन्सारी, प्रदेश गृहमन्त्री प्रकाश शाह, नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी प्रमुखहरु तथा सुरक्षा निकायमा उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
१३ वर्षीया बालिका निर्मलाको १० साउनमा बलात्कारपछि हत्या भएको थियो। उनको शव ११ साउन बिहान उखुबारीमा फालिएको अवस्थामा भेटिएको थियो।
घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४