काठमाडौं- भारत भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारतको सीमा क्षेत्रमा हुने समस्या समाधानका लागि भारतीय गृहमन्त्री राजनाथ सिंहको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार दिउँसो भएको भेटका क्रममा प्रचण्डले सीमा क्षेत्रमा हुने प्रवासी नेपालीमाथि हुने गरेका लुटपाटका घटना रोक्न भारतीय गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
नेपाल भारतको सीमा क्षेत्रमा दसैं तिहारलगायतका चाडमा नेपाल आउने नेपाली सीमा क्षेत्रमा लुटपाटको सिकार बन्ने गरेका छन् ।
भेटका क्रममा प्रचण्ड र सिंहबीच नेपाल र भारतबीचको सम्बन्धमा अहिले सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्नेबारेमा छलफल भएको थियो ।
त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भएको सहमति कार्यान्वयनका विषयमा पनि प्रचण्ड र सिंहबीच कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्डको ध्यानाकर्षणपछि गृहमन्त्री सिंहले सीमाक्षेत्रमा सुरक्षा व्यवस्था मजबुद बनाउँदै लुटपाटका घटना घट्न नदिने वातावरण बनान आफूहरु लाग्ने बताएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४