काठमाडौं– सरकारले एक सहसचिवलाई सचिवमा र तीन उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ। यस्तै राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरिएको छ। सरकारले चालु आवकाे बजेटमा हरेक राष्ट्रसेवककाे तलब दुई हजार रुपैयाँका दरले बढाएको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सहसचिव गोविन्दप्रसाद शर्मालाई सचिव पदमा बढुवा गरी कृषि तथा सहकारी मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको जानकारी कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
यस्तै परराष्ट्र सेवाका उपसचिवहरू सुदीप भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्री सहसचिवमा बढुवा भएका छन्। सरकारले माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन सोही आयोजनाका सहायक प्रशासकीय कमलबहादुर बोगटीलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ।
बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि २०७८ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको छ।
यसैगरी विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली २०७८ को छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा पठाउने र सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ मन्त्रिपरिषद्को विधेयक समितिमा पठाउने निर्णय पनि बैठकले गरेको छ।
यस्तै बैठकले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८ छलफलका लागि मन्त्रिपरिषद् प्रशासन समितिमा पठाउने निर्णय गरेको मन्त्री कार्कीले बताए।