विराटनगर- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नं. ५ बाट एमाले नेता योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दर्ता गराउने भएका छन्।
एमाले प्रदेश कमिटीका सदस्य समेत रहेका मण्डलले आइतबार स्वतन्त्रमा उम्मेदवारी दर्ता गर्ने बताएका छन्।
प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं. ५ बाट सिफारिसमा परेका मण्डलले अन्तिम समयमा आएर टिकट नपाएपछि असन्तुष्ट बनेका छन्। एमाले–जसपाबीचको तालमेलका कारण मोरङ ५ जसपाको भागमा परेपछि मण्डलको टिकट गुमेको हो।
मोरङ ५ मा लामो समय देखि सामाजिक तथा राजनीतिक सेवा गर्दै आएका मण्डललाई पार्टी कार्यकर्ताले स्वतन्त्रमा उम्मेदवारी दिन दवाव दिएका थिए। जीवन विकास समाजका अध्यक्ष समेत रहेका मण्डल सो क्षेत्रमा लोकप्रिय व्यक्तिका रुपमा पहिचान बनाएका छन्।
मण्डलले स्वतन्त्र उम्मेदवारी दिने घोषणासँगै मोरङ ५ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। एमाले–जसपा गठबन्धनबाट जसपाका राजकुमार यादव, सत्तागठबन्धनबाट माओवादीका शिवकुमार मण्डलले आइतबाट उम्मेदवारी दर्ता गराउँदैछन्।