नेपालगञ्ज– लामो समय खडेरीको सामना गरेको बाँकेको नरैनापुर गाउँपालिका बुधबारदेखिको अविरल वर्षाका कारण जलमग्न भएको छ। दुई दिनदेखिको अविरल वर्षाका कारण नरैनापुरको वडा नं. १ बनियागाउँ, वडा नं. ४ को घोडदौरिया, वडा नं. ५ को जमुनहा र वडा नं. ६ को दोँदरामा रहेका घरहरु डुबानमा परेका छन्।
घरभित्र पानी पसेपछि त्यहाँको जनजीवन नै प्रभावित भएको छ। नरैनापुर वडा नं. ४ का अध्यक्ष मनोज शर्माले कहिले खडेरी कहिले डुबानले धेरै समस्या भएको बताए। ‘घोडदौरीया गाउँमा पानी पसेर १० वटा घरमा क्षति पुगेको छ,’ शर्माले भने, ‘निरन्तर पानी परिरहे अझ बढी क्षति हुने सम्भावना छ।’ उनले सबैलाई सचेत हुन अपिल गरेको समेत जानकारी गराए।
यो वर्ष समयमा पानी नपरेपछि नरैनापुरका कृषकहरुको खेत बाँझै छ। उनीहरुले धान रोप्न नपाएपछि भोकमरीको समस्या आइपर्ने हो कि भन्ने चिन्तामा बाँचिरहेका थिए। तर चाडपर्वकै समयमा यसरी डुबान नै हुने गरी पानी परेपछि फेरि नरैनाबासी समस्यामा परेका छन्।
वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले समयमा पानी नपरेपछि धानबाली लगाउन नपाएर समस्या झेल्दै आएका नरैनापुरबासीलाई दैनिक छाक टार्न समस्या भएको अवस्थामा बाढी बस्तिमा पस्न थालेपछि थप समस्या भएको बताए। ‘यो वर्ष नरैनापुरबासीलाई धेरै ठूलो समस्या पर्यो, कहिले खडेरी पर्छ, कहिले डुबान,’ उनले भने, ‘सिजनमा पानी परेन, खेत सबै बाँझै छ।’
घरभित्रै पानी पसेपछि स्थानीयले घरमा भएका सामान सार्न थालेका छन्। त्यहाँका स्थानीयले घरदेखि माथि पाल टाँगेर बस्न बाध्य भएका छन्। नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले निरन्तर पानी परीरहेकोले सचेत हुन आग्रह गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बाढी प्रभावित क्षेत्रमा पुगिसकेको जानकरी दिए।
गाउँपालिका अध्यक्ष शाहले दुई दिनदेखिको वर्षाले नरैनापुर आसपासका विभिन्न वडाहरु जलमग्न हुनुका साथै दर्जनौं बढी घरमा पानी पसेको जानकारी दिए। ‘विभिन्न ठाउँबाट घरमा पानी पसेको गुनासो आइरहेको छ। यकिन तथ्यांक संकलन गर्न वडा अध्यक्ष सहित आफू टोल–टोलको स्थलगत अनुगमनमा निस्केको छु।’
वर्षाका कारण भएको डुबान क्षेत्रको स्थलगत अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई बाढीग्रस्त क्षेत्रमा पुगेका छन्। उनले बाँकेको बाढीग्रस्त क्षेत्रमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिनुको साथै बाढीबाट जोगाउन र क्षति न्युनिकरण गर्नको लागि प्रभावित क्षेत्रका स्थानीय प्रहरी प्रशासनलाई निर्देशन समेत दिएका छन्।
मन्त्री राई डुडुवा क्षेत्रका कयौं बस्तीहरू डुबानमा परेको खबर पाएपछि बिहीबार दिउँसो डुडुवाको होलिया क्षेत्रमा स्थलगत अवलोकनका लागि पुगेका हुन्। मन्त्री राईले डुडुवा क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे जानकारी लिँदै बाढी र डुबान प्रभावितका लागि आवश्यक चाँजोपाँजो मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने बताए। उनले डुडुवा आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले त्यहाँका प्रभावितहरूको दिनचर्या सहज बनाउन व्यक्तिगत तर्फबाट पनि तत्कालै पहल गर्ने आश्वासन समेत दिएका छन्।
उनले बाढी र डुबान क्षेत्रमा मानवीय र भौतिक क्षति हुन नदिन आफ्ना युनिटहरूलाई तदारूकताका साथ परिचालन गर्न पनि जिल्लास्थित सुरक्षा अधिकारीहरूलाई निर्देशन समेत दिए।