म्याग्दी-रोजगारीको सिलसिलामा साउदी अरब पुगेका पाँच नेपाली युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुगेका म्याग्दीका दुर्इ, सिन्धुपाल्चोकका दुर्इ तथा बर्दियाका एक युवा अलपत्र परेका हुन् ।
अलपत्र पर्नेमा म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल, म्याग्दीकै धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदवीर घर्ती, सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा छन् । उनीहरु कम्पनीको दुर्व्यवहारका कारण अलपत्र परेका हुन् ।
अजीब अल हाजिरी कम्पनीमा सवारी चालकको काम गर्दै आए पनि आफूसँगै कार्यरत साथीलाई कुटपिट गरेको र त्यसो नगर्न आग्रह गर्दा आफूमाथि समेत दुर्व्यवहार गरिएको अलपत्र परेको भकिम्लीका छन्त्यालले जानकारी दिए ।
कान्तिपुर मेनपावर कम्पनीमार्फत दुई वर्षका लागि त्यहाँ पुगेका उनलाई कम्पनीले तीन वर्ष पूरा नभएसम्म घर फिर्ता हुन नदिने धम्की दिँदै आएकामा अहिले आफूहरूलाई कुटपिट गरी साथमा रहेको मोबाइल र पर्ससमेत खोसेर कम्पनीबाट निकाला गरेपछि अहिले समस्यामा परेको गुनासो गरे । अर्का पीडित मल्कबाङका घर्तीले भने, 'हामी यहाँ अलपत्र परेका छौँ, कम्पनीले निकालेपछि एक दिन सडकमै बितायौँ, अहिले कहाँ बस्ने र के खाने त्यो पनि ठेगान छैन ।'
आफूहरूको पासपोर्ट, लाइसेन्सलगायतका सबै कागजपत्र कम्पनीले नै राखेको र नेपाल फिर्ता हुनबाट रोक्ने, कडा परिश्रम गर्न लगाउने, शारीरिक यातना दिने गरेपछि दूतावास र श्रम अदालत धाउँदासमेत आफूहरू घर फर्कने वातावरण नबेपछि थप समस्या भएकाले आफूहरू नेपाल फर्कन चाहेको बताउँदै उनीहरूले सबै सरोकारवालालाई घर फिर्ताका लागि पहल गरिदिन अनुरोध गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४